काठमाडौँ — ‘कस्तो रहर थियो नि यो मनमा
के सोचेको, के भयो जीवनमा
मनमा माया साँच्नै मन छैन
दुवै आँखा नदेख्ने भएर
यो संसारमा बाँच्नै मन छैन।।।’
-कार्यालय समयजस्तै हरेक बिहान १० देखि बेलुका ५ बजेसम्म राजधानीको सुन्धारा आसपासमा सुनिने यस्ता लोकलय ठप्प भएको पाँच दिन भयो । बटुवालाई गीत सुनाएर जीविकोपार्जन गर्ने दृष्टिविहीन कलाकारको हाजिरी अचेल काठमाडौं महानगरपालिकाको गेटमा लाग्न थालेको छ । सडक सुन्दर बनाउने भन्दै महानगरले उनीहरूका वाद्यवादन सामग्रीसमेत खोसिदिएको छ । बटुवालाई सुमधुर गीत सुनाउने कलाकारहरू महानगरलाई चर्का नारा सुनाउन बाध्य भएका छन् ।
‘आर्थिक परिवेश र राज्यको उपेक्षाले समाजबाट लेखिटिएर सडकमा पुगेका दृष्टिविहीन त्यहाँबाट पनि लखेटिएपछि कहाँ जाने ?,’ दृष्टिविहीन गायक अर्जुन बोहरा सोध्छन् । श्रीमती र ६ वर्षीय छोरासहित कीर्तिपुरमा डेरा गर्दै आएका बोहराको गाउँ हुम्लामा पनि गरिखान पुग्ने जग्गा छैन, रोजगारी दिने कोही छैन, जीविकोपार्जनको जिम्मेवारी लिने राज्यको नीति छैन । ‘अरू केही नभए पनि सृष्टिले गला दिएको छ, ठूला मञ्चमा गाउन कसैले दिँदैन, सडकमा गाउँछु,’ भन्छन्, ‘तर, महानगरले तिम्रो कलाले सडक प्रदूषित भयो भनेर लखेट्यो । गाँसबास नै खोस्यो । बाध्य भएर नाराबाजीमा उत्रिएका छौं ।’
शुक्रबार मध्याह्न १२ बजे पनि चर्को घाममा भोको पेट लिएर बोहरासँगै ३२ वर्षीय दृष्टिविहीन उपेन्द्र पासवान महानगरपालिका गेटमै ह्वीलचियरमा अडेस लगाएर बसिरहेका थिए । साथ दिन २० भन्दा बढी दृष्टिविहीन र अपांगता भएका व्यक्तिहरू जम्मा भएका थिए । कलाकारलाई महानगर प्रहरीले धपाएन मात्रै, उनीहरूका सामग्री पनि खोसिदिएको छ । ‘बटुवाले दिएको दुईरचार रुपैयाँ जोडेर किनेका साउन्ड सिस्टमहरू नगर प्रहरीले खोसिदिएको छ,’ पासवान भन्छन्, ‘काठमाडौं मलअगाडि गीत गाउँदै गरेको अवस्थामा मेरो पनि एउटा स्पिकर, सेतो छडी र सहकारीमा रकम बचत गर्ने पासबुकसमेत महानगरले जफत गरिदिएको छ ।’
६ वर्षको उमेरमा दृष्टि गुमाएका रौतहटका पासवान ९ वर्षको उमेरमा काठमाडौं आएका हुन् । हाल उनी बालाजुमा मासिक ३५ सय बहाल तिरेर एक छोरी र दृष्टिविहीन श्रीमतीसँगै बस्छन् । ‘हामी विदेश जान र भारी बोकेर खान सक्दैनौं । गर्न सक्ने काम पनि सरकारले दिँदैन,’ उनले भने, ‘हाम्रा लागि दुनियाँ नै अँध्यारो छ । बरु सरकारले मारिदिए पनि मर्न तयार छौं ।’
राज्यले नै बाँच्ने आधार खोसेको भन्दै पासवानको गला अवरुद्ध भइरहँदा पोखराकी नीरमाया गुरुङको अनुहार पनि मलिन देखिन्थ्यो । भोजपुरका डम्बरबहादुर कार्की, रामेछापका मीनबहादुर तामाङ र हाल कपनमा बस्दै आएका विमल खत्रीले पनि पाँच दिनयता खानाको जोहो गर्न गाह्रो परेको सुनाए । ‘हामी त सडकको भरमा बाँचेका मान्छे हौं । तिहार आइसक्यो, गीत गाएर जुटेको रकम बाँडेर छाक टार्थ्यौं, भाडा तिर्थ्यौं, अब के गर्ने, कसो गर्ने, केही सोच्नै सकेका छैनौं,’ खत्रीले भने ।
अपांगता भएका केही कलाकारले अहिले दैनिक प्रयोग हुने सामग्रीको हातेव्यापार थालेका छन् । तर शारीरिक अवस्थाले यो निकै सकसपूर्ण देखिन्छ । ‘अरूजस्तो सामान्य काम गर्न नसक्ने हामीजस्ता फरक क्षमता भएकालाई सरकारले दिगो व्यवस्थापन गरिदिए हुन्थ्यो, तर चुनावमा उठेका कोही पनि हाम्रो पक्षमा बोल्दैनन्, चुनाव जितिसकेकाहरू धपाउन आउँछन्,’ खत्री भन्छन् ।
गायनबाटै राजनीतिमा आएका मेयर बालेन्द्र शाहले नै दृष्टिविहीन गायकहरूमाथि लौरो बर्साएको देख्दा आफूहरू यो देशमा साँच्चै असहाय हो कि जस्तो लागेको महसुस भएको बताउँछन् गायक मीनबहादुर तामाङ । १३ वर्षकै उमेरमा सवारी दुर्घटनामा आँखाको दृष्टि गुमाएका तामाङका लागि त्यसयताका ३५ वर्ष कहिल्यै सजिला भएनन् । मूलपानीमा श्रीमतीसँगै बस्दै आएका उनीहरूका ११ महिनाका एक छोरा छन् । तर, गरिखाने बाटो बन्द हुने पिरलोबीच उनले गला खोलेर यसरी भावना पोखे–
‘संसार हेर्ने हाम्रो नि मन थियो
दुवै आँखा नदेख्ने भैदियो
भाग्य गयो सिसाझैं फुटेर
लग्यो आँखा दैवले लुटेर।।।’
‘सिठी बजाउँदै पुलिस आउँछन्, नयाँ मेयररउपमेयर आएका छन्, तिमीहरूले सडक र पुलमा गीत गाउन पाउँदैनौ भन्छन्,’ जमलस्थित पुलमा मादल बजाएर गुजारा चलाउँदै आएका सर्लाहीका बिगन रामले भने, ‘तर, अब यहाँबाट हटेर कहाँ गएर के गरेर बाँच्ने ?’
७र८ वर्षको उमेरमा आँखामा समस्या आएको थियो, समयमै उपचार नहुँदा उनले दुवै आँखाको ज्योति गुमाए । डेढ दशकदेखि उनी काठमाडौंका सडकमा छन् । मादल बजाएरै दैनिक १ हजारसम्म कमाएर उनी बालाजुमा डेरा लिएर भान्जासँग बस्छन् । सर्लाहीमा रहेका श्रीमती, तीन सन्तानलाई समेत खर्च पुर्याउँछन् ।
महानगरले ११ औं नगरसभाबाट स्वीकृत नीतिका आधारमा ‘साधु, सन्त, जोगीले धार्मिक तथा सांस्कृतिक कार्यमा माग्नेबाहेक अन्य काममा भिक्षा माग्न रोक लगाउने’ सूचना जारी गरेको थियो ।
असारमा यो सूचना जारी भएपछि नै महानगरले नगर प्रहरी खटाएर दृष्टिविहीन कलाकारमाथि दुर्व्यवहार गर्दै आएको छ । सुधार गर्नुपर्ने शिक्षा, स्वास्थ्य र पूर्वाधारका समस्यामा होइन, मानवीय संवेदनामा प्रहार गर्दै आएको भन्दै मेयर शाहको आलोचनासमेत हुन थालेको छ ।
दृष्टिविहीन कलाकारलाई भिक्षा माग्नेका रूपमा बुझ्न नहुने बताउँछन् कलाकार मदनदास श्रेष्ठ । स्थानीय निर्वाचनमा राप्रपाबाट मेयरमा उठेका श्रेष्ठ भन्छन्, ‘कला देखाउनु अधिकार हो । सबै क्षेत्रमा राजनीतिक व्यक्तिको हालिमुहाली भएकाले शारीरिक अशक्तहरूको जीवन कठिन छ ।’ कला र गलालाई सम्मान गर्दै अधिकारको सुनिश्चित गर्न महानगर र सरकार पछि हट्न नहुने उनको भनाइ छ ।
सडकमा कला प्रस्तुत गरेर केही आर्जन गर्दै संगीत र संस्कृतिलाई प्रवर्द्धन गर्ने अभ्यास विश्वका विकसित मुलुकमा समेत प्रचलनमा रहेको बताउँछिन् समाजशास्त्री मीना पौडेल । ‘मैले अध्ययनकै क्रममा युरोपका विभिन्न देश र फिलिपिन्सलगायत १२र१३ मुलुक भ्रमण गरें । त्यता पनि थुप्रै दृष्टिविहीन तथा अन्य व्यक्तिले सडकमा गीत गाउने, प्रस्तुति दिने गरेको पाएँ । कला प्रस्तुतिले सडकलाई कुरूप बनाउँछ भन्ने मान्यता कतै छैन ।’
महानगरले चालेको कदम पौडेललाई पनि उचित लागेको छैन । ‘निम्न वर्ग, भुइँमान्छेको इच्छा र सिर्जनालाई महानगरले कुण्ठित पार्नॅहुँदैन,’ उनले भनिन्, ‘उनीहरूको उचित व्यवस्थापन हुने गरी कला र गलाको सम्मान गर्नुपर्छ ।’ देशैभरका सडक मानवमुक्त बनाउने घोषणासहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मानव सेवा आश्रमको सहकार्यमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र काठमाडौं महानगरपालिकाले केही कार्यक्रम अघि सारेका थिए । तर, उनीहरू केही दिन त्यो बेला पनि धपाइए तर न भरपर्दो व्यवस्थापन भयो, न सम्मान ।
एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी भने सडकमा माग्दै हिँड्ने र गाउनेहरूको उचित व्यवस्थापन गर्न तत्कालीन सरकारले भूमिका खेलेको दाबी गर्छन् । ‘नेपालको संस्कृति र प्रकृति नै आकर्षक रहेकाले अहिले महानगरले उचित व्यवस्थापनबिनै सामग्री जफत गर्नु उचित होइन । महानगरपालिकाले आतंक फैलाउनु हुँदैन ।’
परिवारविहीन र सहारा दिनैपर्ने सडक मानवलाई आश्रय दिएर राख्दै आएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी महानगर र आफूहरूबीच पछिल्लो समय कुनै समन्वय नभएको बताउँछन् । ‘सडकबाट हटाइएका दृष्टिविहीनहरूको व्यवस्थापनको विषयमा महानगरसँग पछिल्लो समय कुरा भएको छैन,’ उनले भने, ‘यहाँ गरेर खान सक्ने दृष्टिविहीन पनि हुनुहुन्छ । उहाँहरूको व्यवस्थापन हाम्रो जिम्मेवारीमा पर्दैन । राज्यले नीति बनाउनुपर्छ ।’ उता महानगरले भने असहाय, बिरामी, बेवारिस, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्न मानव सेवा आश्रमसँग सहकार्य भइरहेको दाबी गर्दै आवश्यक परेमा सम्पर्क गर्न भनिरहेको छ ।
शुक्रबार राष्ट्रिय अपांग महासंघ नेपालको अगुवाइमा पीडितहरूले महानगरलाई ज्ञापनपत्र बुझाएका छन् । शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि जीवनयापनको अधिकार सुनिश्चित गर्न, व्यवस्थापन नभएसम्म कला देखाउन तथा व्यापार गर्न छुट दिन, अपांगता भएका व्यक्तिको कार्यक्षमता हेरी विभिन्न उद्योग र कलकारखानामा रोजगारको पहल गरिदिन र फुटपाथबाट उठाएका सामान फिर्ता गर्न माग गरिएको छ ।
मेयर शाहलाई भेटेरै गुनासो राख्ने उनीहरूको चाहना भने पूरा भएन । ज्ञापनपत्र बुझ्न उनी आएनन्, स्वकीय सचिव भूपदेव शाहलाई ज्ञापनपत्र बुझाएको महासंघका महासचिव राजु बस्नेतले बताए । ‘सडकमा आउनु कसैका पनि रहर होइन, बाध्यता हो, सडक र महानगरलाई अप्ठ्यारो नपर्ने गरी उहाँहरूको पनि बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने बाटो खोजिदिनुपर्छ,’ उनले भने ।
त्यसो त, आश्रममा बसेर अरूमाथि निर्भर हुने आफूहरूको चाहना नभएको दृष्टिविहीन डम्बरबहादुर कार्कीको भनाइ छ । ‘हामी सबै काम गर्न सक्दैनौं, तर जे सक्छौं त्यही गरेर स्वावलम्बी बन्छौं भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘आश्रम गएर बस्ने हाम्रो उमेर पनि होइन । हामी स्वावलम्बी नागरिक हौं, सम्मानसँगै बाँच्न चाहन्छौं, अरू केही चाहिएन, गरिखान देऊ ।’