बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा नियामकदेखि स्थानीय सरकारसम्मको उदासीनता हेर्दा लाग्छ, अर्को जनस्वास्थ्य संकट सम्मुखमै छ ।

काठमाडौं, अनामनगरका कृष्ण आचार्यले केही समयअघि ‘हाम्रो फार्मा’ नामको अनलाइन फार्मेसीबाट चार प्रकारका एन्टीबायोटिक औषधि ‘अर्डर’ गरे। उनले अर्डर गरेको केही समयभित्र भनेकै ठेगानामा ती चारवटै एन्टीबायोटिक औषधि (क्लाभाम, ओफ्लक्सासिन, लेभोफ्लोक्सासिन र एजिथ्रोमाइसिन) आइपुगे।

औषधि अर्डर गर्दा र डेलिभरी लिंदा ‘हाम्रो फार्मा’बाट उनलाई केही प्रश्न सोधिएन। यतिसम्म कि चिकित्सकको प्रेस्क्रिप्सन पनि मागिएन। अनलाइन ‘अर्डर’बाट यसरी घरमै आइपुगेका चारवटै औषधि ती एन्टीबायोटिक हुन् जो चिकित्सकको सिफारिस र निगरानीबेगर सेवन गर्न मिल्दैन।

कृष्ण आचार्यले हाम्रो फार्मा अनलाइन फार्मेसीबाट अर्डर गरेका औषधि । तस्वीरः कृष्ण आचार्य

औषधि ऐनको दफा १७ (२) मा प्रष्ट लेखिएको छ— ‘चिकित्सकको प्रेस्क्रिप्सन विना बिक्री–वितरण गर्न नहुने भनी समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन विना कसैले बिक्री–वितरण गर्न हुँदैन। त्यस्तो औषधि चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैंले बिक्री–वितरण गर्नुपर्नेछ र फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीबाहेक अरूले त्यस्तो औषधि बिक्री–वितरण गर्न फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ।’

तर, कानूनमा यस्तो व्यवस्था भए पनि न केही सोधपुछ, न चिकित्सकको प्रेस्क्रिप्सन; ‘हाम्रो फार्मा’ले ती औषधि सजिलै घरमै ल्याइदियो।

पछिल्लो समय सामाजिक सञ्जालमा अनलाइन फार्मेसी, तिनले दिने छुट र सेवाका विज्ञापन छ्याप्छ्याप्ती भेटिन्छन्।

हामीले यस्तै एउटा अनलाइन फार्मेसीलाई एकजना सञ्जाल प्रयोगकर्ता कृष्ण शर्मामार्फत पछ्यायौं। औषधिको अनलाइन डेलिभरी कसरी हुँदोरहेछ, चिकित्सकको प्रेस्क्रिप्सन हेरिंदोरहेछ कि रहेनछ भनेर हामीले जान्न चाहेका थियौं।

‘हाम्रो फार्मा’ले केही नगरी सजिलै औषधि ल्याइदिएपछि यी प्रश्नको त उत्तर मिल्यो तर, यस्तो गर्ने एकाध फार्मा मात्र होलान् कि यो कारोबार ठूलै संख्यामा भइरहेको होला भन्ने खुल्दुली जाग्यो। यस्तो खुल्दुली मेटाउन सामाजिक सञ्जालमा खोज्ने क्रममा फेसबुकमै मात्र ‘हाम्रो फार्मा’ जस्ता अरू कैयौं अनलाइन फार्मेसी भेटिए।मेडी नेपाल, केमिस्ट नेपाल, जिभी नेपाललगायतका फार्मा भेटिएपछि हामीले ‘मेडी नेपाल’ नामको अर्को अनलाइन फार्मेसीलाई सम्पर्क गर्‍यौं र केही औषधि अर्डर गर्‍यौं। ‘मेडी नेपाल’ले पनि अर्डरबमोजिम दुई वटा एन्टीबायोटिक– एमोक्सिसिलिन र एजिथ्रोमाइसिन सजिलै घरमा ल्याइदियो। औषधि अर्डर गर्दा र डेलिभरी दिंदा उसले पनि चिकित्सकको प्रेस्क्रिप्सन मागेन, रोग वा स्वास्थ्य समस्याबारे सोधपुछ पनि गरेन।

मानिसको ज्यान जोगाउन नभई नहुने विभिन्न खालका औषधि अनावश्यक सेवन गर्दा वा मात्रा थोरै तल–माथि भए स्वास्थ्यमा दीर्घकालीन असर पर्नेदेखि ज्यानै जान सक्ने पनि हुन्छ।चिकित्सकको सिफारिश बेगर बिक्री गर्न नमिल्ने यस्ता संवेदनशील औषधिसमेत अनलाइनबाट सहजै घरघर पुर्‍याउन थालिएको छ।

अनलाइन फार्मेसीहरूले गरिरहेको यस्तो ‘कारोबार’बारे थप जानकारी लिन हामीले पहिले औषधि अर्डर गरेको ‘हाम्रो फार्मा’सँग फेरि बुझ्ने प्रयास गर्‍यौं। ‘तपाईंहरूले अनआइन फार्मेसीबाट एन्टीबायोटिक औषधि डेलिभरी गर्दा पनि डाक्टरको पे्रस्क्रिप्सन माग्नुहुँदोरहेनछ, आवश्यक पर्दैन र ?’ यो प्रश्न सोध्दा ती कर्मचारी शुरूमा अक्मकाए र प्रेस्क्रिप्सनको आधारमा मात्र औषधि डेलिभरी हुने दाबी गरे। उनले थपे, “हाम्रो फार्माबाट नियमित रूपमा औषधि खरीद गर्नेसँग भने हामी प्रेस्क्रिप्सन माग्दैनौं।”

उनले यस्तो दाबी गरे पनि कृष्ण आचार्यले हाम्रो फार्माबाट पहिलो पटक औषधि खरीद गरेका थिए र उनलाई प्रेस्क्रिप्सन नै मागिएको थिएन। हामीले ती कर्मचारीलाई फार्मेसी सञ्चालकको नाम र टेलिफोन नम्बर उपलब्ध गराउन आग्रह गर्दा उनले दिन नमिल्ने जिकिर गरे।

‘हाम्रो फार्मेसी’ औषधि व्यवस्था विभागमा दर्ता रहेको उनको दाबी पनि झुट निक्लियो किनभने औषधि व्यवस्था विभागमा आजसम्म अनलाइन फार्मेसी दर्ता भएकै छैनन्।

विभाग भन्छ– हामीलाई जानकारी छैन

अनलाइन फार्मेसीबाट भइरहेको औषधि बिक्रीलाई व्यवस्थित गर्ने कानूनी व्यवस्था के रहेछ भनेर खोज्दै जाँदा अर्को रोचक तथ्य फेला पर्‍यो।

नेपालमा अहिलेसम्म औषधिको बिक्री–वितरण ‘औषधि ऐन २०३५’का आधारमा भइरहेको छ। सरकारले प्रयोजनका आधारमा औषधिहरूको समूह (क, ख र ग भनेर) वर्गीकरण गरेको छ। औषधि ऐन २०३५ र औषधि स्तर नियमावली २०४३ अनुसार गरिएको वर्गीकरणमा कुन औषधि बेच्दा चिकित्सकको प्रेस्क्रिप्सन अनिवार्य छ भन्ने उल्लेख छ।(हे., सूची)