काठमाडौं – सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १५.६१ अंकले ओरालो लागेर १९५०.३७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ३.६५ अंकले घटेर ३८२.६१ विन्दुमा पुगेको छ।
नेप्से ओरालो लागेसँगै आइतबारको तुलनामा आज सेयर कारोबार घटेको छ। आज २२६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन आइतबार २ अर्ब २ करोड बढिको सेयर कारोबार भएको थियो।
सेयर बजार दोहोरो अंकले ओरालो लाग्दा कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेन। खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१८ प्रतिशतले बढ्दा गरिमा डिवेन्चरको सूचक ६.११ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टीलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १६ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। नविल बैंक ७ करोड २४ लाख र शिवम् सिमेन्ट ६ करोड १६ लाख मूल्य बराबरको सेयर कारोबार गरी क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे। कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने २ को बढ्यो।
पाँच कम्पनीको सेयर मूल्य १ प्रतिशत बढिले घट्यो। डेभलपमेन्ट बैंक, फाइनान्स,हाइड्रोपावर, मनुफ्याक्चरी एन्ड प्रोसेसिङ र अदर्श समूहको सूचक १ प्रतिशत बढिले घटेको हो। ११ समूहको सूचक ओरालो लाग्दा म्युचुअल फन्ड र ट्रेडिङको सूचक क्रमश: ०.२४ र ०.१६ प्रतिशतले उकालो लाग्यो।