बैतडी – घरवाट लुगा सिलाउन भदैनीसँग हिडेको बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । पूर्व म्यादी प्रहरीसमेत रहेकी मायाको हत्या शशस्त्र प्रहरीका एक जवानले गरेर फरार भएको आफन्तले आशंका गरेका छन ।
१५ वर्षीया भदैनी नेहा लुहार गाउँकै अरू दुईजना साथीहरुसँग मंगलबार बिहान घरबाट निस्किएकी माया घर नफर्किएपछि सोधखोज गर्दै जाँदा हत्या गरिएको अवस्थामा फेला परेकी थिईन । घरवाट करिव डेढ घण्टा टाढाको पञ्चेश्वर गाउँपालिका ३ कुलाउ गएकी मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
नेहालाई बुधबार दिउँसो गोठालाले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा घाईते अबस्थामा फेला पारेर सोधखोज गर्दै जाँदा उनले मायाको हत्या भएको वताएकी थिईन । त्यसपछि गाउँलेले घटनाबारे प्रहरीलाई खबर गरेपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटिएको थियो ।
माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए। माया म्यादी प्रहरी पनि थिइन्।
स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एकजना शसस्त्र प्रहरी जवानमाथि शंका गरेका छन्।
ती शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए। केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए।
घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेकोसमेत बताएकी थिइन्। ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनकबहादुर चन्दले बताए।
‘केही दिनअगाडि मोबाइल खोसेका ती सशस्त्रका जवान अहिले फरार रहेकाले आशंका बढेर गएको छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलमा जाँच प्रकृति मुचुल्काको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको बताए।
‘घटनास्थलको जाँच अनुसन्धानको काम सकेर शव पोष्टमार्टमका लागि पठाएका छौँ, घटनाबारे थप बुझ्दैछौँ,’ उनले भने, ‘अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौँ।’