काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्।
शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा ९७ मत खस्यो।
२७५ सदस्यीय प्रतिनिधिसभाका २६४ जना मतदानमा सहभागी भएका थिए। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी राना रास्वपाकी समानुपातिक सांसद हुन्। उनको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। पहिलो प्रस्तावमै राना उपसभामुखमा निर्वाचित भएपछि यादवको प्रस्ताव भने निर्णयार्थ पेश भएन।
रानामगर देश र विदेशमा समेत चर्चित समाजसेवी हुन् । उनकी आफ्नै छोरी छन् सुबानी रानामगर । तर उनलाई सुबानीले मात्र नभइ सयौं बालबालिकाले आमा मान्छन् । सयौं बालबालिकाले उनको न्यानो काख र ममतामा हुर्किने मौका पाएका छन् भने शिक्षा दिक्षा, सीप र रोजगारीसँग समेत उनले जोडिदिएकी छिन् ।
साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बन्दी सहायता नेपालकी संस्थापक उनले त्यही संस्थामार्फत् बाबुआमा जेल पर्दा अलपत्र पर्ने बालबालिकाको स्याहार र शिक्षा दिक्षामा सहयोग गर्दै आएकी छिन् । त्यही कामले उनलाई नेपालमा मात्रै होइन, विश्वभर चिनाएको छ ।
सुरुवाति चरणमा काठमाडौं आएर एक विद्यालयमा शिक्षिकाका रूपमा समेत काम गरिन् उनले । त्यतिबेलै मानवअधिकार अभियन्तासमेत रहेकी साहित्यकार पारिजातसँग उनको भेट भयो । पारिजात कारागारमा रहेका राजबन्दीहरूको अधिकारका लागि लडिरहेकी थिइन् । पारिजातले नै आफूलाई कारागारहरूमा लगेर आफ्ना काम चिनाएको इन्दिरा बताउँछिन् । त्यति बेलादेखि नै नेपालको न्याय प्रणालीसँग उनी परिचित भइन् । त्यसपछि उनी कैदीबन्दीको अधिकारका लागि सक्रिय भएर लागिन्।
०२७ सालमा झापाको शनिश्चरेमा सामान्य परिवारमा जन्मिएकी उनी आफैँ भने १० वर्षसम्म विद्यालय टेक्न पाइनन् । ढिला विद्यालय भर्ना भए पनि उनले स्नातकसम्मको पढाइ पूरा गरेकी छिन् । उनका बुवाआमा उदयपुरबाट झापा बसाइ सरेका थिए । ६ सन्तानमध्ये सबैभन्दा कान्छी उनलाई परिवारले ढिलामात्र विद्यालय पठाएको थियो । उनले अक्षरहरू भने दाजुहरूसँगै सिकेकी हुन् । ुजहाँ इच्छा, त्यहाँ उपायु भनेझैँ धुलोमा अक्षर कोेरेर प्रारम्भिक शिक्षा हासिल गरेकी इन्दिरा अहिले धेरै बालबालिकाको भविष्य उज्ज्वल बनाइरहेकी छन् । रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । यतिबेला उनको संस्थाले करिब १ हजार ५ सय बालबालिकाको हेरचाह गरिरहेको छ । उनलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् ।
सन् २००५ मै ुअशोका फेलोु पाएकी उनी दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित छिन् । उनले २००९ मा एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड पाइन् भने सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाहरूको सूचीमा परेकी थिइन् ।