काठमाडौं– महानगरपालिका वीर अस्पतालसँग मिलेर स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचार सेवाका लागि सम्झौता गरेको छ । स्थानीय सरकार जनस्वास्थ्यको गम्भीर समस्या समाधान गर्न अग्रसर हुनु स्वागतयोग्य हो । यसबाट उपचारका निम्ति प्रायः निकै ढिलो प्रयास गर्ने नेपाली समाजमा सकारात्मक हस्तक्षेप हुनसक्छ ।
नेपालमा क्यान्सरको उपचार उपलब्ध भए पनि जनस्वास्थ्य चेतना र अर्थिक कारणसमेतले प्रायः पछिल्लो चरणमा मात्र परीक्षण गराउने प्रवृत्ति भएकाले निःशुल्क परीक्षणको यस पहलबाट महत्त्वपूर्ण योगदान हुनसक्छ । महिलाको स्वास्थ्यलाई यसरी प्राथमिकता दिइनु आफैँमा सकारात्मक हो । विशेषतः कामकाजी महिला र गृहिणीलाई लक्षित गरी परीक्षण तालिका मिलाउने निर्देशनले सेवामा पहुँच बढाउन पक्कै सहयोग पुग्नेछ । महिलाले आफ्नै स्वास्थ्यलाई कम महत्त्व दिने प्रवृत्ति रहेको नेपाली समाजमा यस्तो सुविधाले धारणामै परिवर्तन गर्नसक्छ ।
क्लिनिकल जाँच, शंका लागेमा अल्ट्रासाउन्ड, आवश्यकताअनुसार मेमोग्राफी परीक्षणको चरणबद्ध प्रक्रिया अपनाइँदा स्रोतको प्रभावकारी उपयोग हुने आशा पनि जगाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय अभ्यासअनुरूपको उन्नत प्रविधि एचपीभी डीएनए पीसीआर परीक्षणमार्फत पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने प्रयास यसको अर्को विशेषता देखिन्छ । यसले प्रारम्भिक पहिचानको सम्भावना बढाउने हुनाले उपचारको सफलता दर पनि उल्लेखनीयरूपमा बढाउनेछ ।
अर्कातिर यसको सफलतामा चुनौतीहरू पनि उत्तिकै छन् । निःशुल्क सेवा घोषणा गर्नुमात्र पर्याप्त हुँदैन । सेवाको निरन्तरता, उपकरणको उपलब्धता, जनशक्तिको दक्षता र परीक्षणपछि आवश्यक रेफरल प्रणालीको प्रभावकारिता पनि अपरिहार्य हुन्छ । विगतमा यस्ता कार्यक्रमहरू आरम्भ त भएका तर कार्यान्वयनका चरण प्रभावहीन भएका वा दिगो नभएका उदाहरण प्रशस्त छन् ।
यस्ता कार्यक्रमको सफलताका लागि जनचेतना अर्को निर्णायक पक्ष हो । क्यान्सरसम्बन्धी सामाजिक वर्जना, डर र निकै हुँदैन भन्ने गलत धारणाले महिलाहरू परीक्षण गराउनै हिचकिचाउने गर्छन् । त्यसैले सेवा उपलब्ध गराएर मात्र पुग्दैन समुदायस्तरमा चेतना जागरण र जानकारीको प्रसार सँगसँगै अघि लैजानुपर्छ । यस कार्यक्रमको प्रभावकारिता मापन गर्न स्पष्ट सूचक र पारदर्शी रिपोर्टिङ आवश्यक हुन्छ । कति महिलाले परीक्षण गराए, कति केस प्रारम्भिक चरणमै भेटिए र उपचारसम्म तिनको पहुँच कस्तो रह्यो भन्नेजस्ता तथ्यले कार्यक्रमको वास्तविक सफलता निर्धारण गर्नेछन् । परीक्षणका क्रममा क्यान्सरका लक्षण देखिएमा उपचारका लागि आवश्यक सहयोग र परामर्श पनि उपलब्ध हुने उपाय पनि खोजिनुपर्छ ।
यो पहल स्थानीय तहले स्वास्थ्य क्षेत्रमा लिनसक्ने सक्रिय भूमिकाको पनि उदाहरण बन्न सक्छ । विशेषगरी साधनसम्पन्न पालिकाहरूले यस्ता प्रयासहरूको अनुसरण गर्नु उचित हुनेछ । यसैगरी विशिष्टीकृत सेवा दिने सामुदायिक र निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूसँग पनि पालिकाहरूले सहकार्य गरेर स्वास्थ्य सेवा सर्वसुलभ बनाउन सकिने देखिन्छ । यद्यपि, यस्ता पहलको सफलता घोषणामा होइन कार्यान्वयनको निरन्तरता, गुणस्तर र जनविश्वासमा निर्भर रहनेछ ।