२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

बाढीको असर :

९५ प्रतिशतसम्म पर्यटक घटे, सेप्टेम्बरका अधिकांश बुकिङ रद्द

९५ प्रतिशतसम्म पर्यटक घटे, सेप्टेम्बरका अधिकांश बुकिङ रद्द

बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • चितवन -भोटेकोशी बाढी र त्यसपछि सडक सञ्जालमा आएको अवरोधको प्रत्यक्ष असर चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा परेको छ।

    सौराहाका होटलमा पर्यटकको चहलपहल घटेर अधिकांश होटल सुनसान बनेका छन्। ७५ कोठा रहेको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली थिए। यसअघि यही समयमा करिब ६० प्रतिशत बुकिङ हुने गरेकोमा अहिले ती बुकिङसमेत रद्द भएका छन्।

    क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सेप्टेम्बर महिनाका अधिकांश बुकिङ रद्द भइसकेका छन्।

    भारतको गोरखपुरबाट सौराहा भ्रमणका लागि बुकिङ गरेका करिब १ सय पर्यटकले समेत आफ्नो कार्यक्रम स्थगित गरेका छन्। व्यवसायीका अनुसार नेपालमा विपद्को अवस्था रहेको भन्दै भारतीय पर्यटकले भ्रमण स्थगित गरेका हुन्।

    भोटेकोशी बाढीको प्रभाव सीमित क्षेत्रमा मात्रै भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपाल नै असुरक्षित रहेको सन्देश गएको व्यवसायीको गुनासो छ।

    सौराहाका व्यवसायीका अनुसार बाढीभन्दा पनि पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरो र सडक अवरोधले पर्यटक आगमनमा ठूलो असर पारेको छ।

    सौराहामा अहिले सरदर ५ प्रतिशत मात्रै पर्यटक रहेको अनुमान छ। गत वर्ष यही समयमा २५ देखि ३० प्रतिशतसम्म पर्यटक हुने गरेका थिए।

    होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेका अनुसार सेप्टेम्बरका सबैजसो बुकिङ रद्द भएका छन् भने अक्टोबरका बुकिङसमेत प्रभावित भएका छन्।

    सौराहामा १ सय २० भन्दा बढी होटल छन्, जहाँ दैनिक ५ हजारभन्दा बढी पर्यटकलाई राख्न सक्ने क्षमता छ। तर सडक अवरोधका कारण काठमाडौँबाट सञ्चालन हुने पर्यटक बससमेत प्रभावित भएका छन्। हवाई यात्रा महँगो हुँदा पर्यटक आगमन थप कठिन बनेको व्यवसायीको भनाइ छ।

    चितवन राष्ट्रिय निकुञ्जको सफारीका लागि प्रसिद्ध सौराहा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो। तर अहिले पर्यटक अभावसँगै व्यवसायीहरू पर्यटन पुनरुत्थानका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमै ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्नुपर्ने माग गरिरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend