काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको हृदयघातका कारण मृत्यु भयो । त्यस्तै, चुनावको समीक्षा बैठक सकेर बस्दाबस्दै एमाले कास्कीका पूर्वअध्यक्ष कृष्ण थापाको हृदयघातका कारण निधन भयो ।
हृदयघात प्रायः हिँड्दाहिँड्दै हुने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन् । विज्ञहरूका अनुसार, केवल शरीरको बनावट वा फिटनेसले मात्रै मुटुको अवस्था पूर्ण रूपमा झल्काउँदैन ।
नियमित व्यायाम, सन्तुलित आहार र अनुशासित जीवनशैली अपनाउने व्यक्तिहरू सामान्यतः स्वस्थ रहने विश्वास आम रूपमा रहँदै आएको छ । तर, पछिल्लो समय बाहिरी रूपमा ‘फिट’ देखिने व्यक्तिहरूको पनि हृदयघातका कारण मृत्यु भएको छ ।
धेरैजसो अवस्थामा मुटुसम्बन्धी समस्या लुकेर बसेको हुन सक्छ, जसले पूर्वसंकेतबिना नै गम्भीर अवस्था निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ । युवावस्थामै हृदयघात हुने घटनामा वृद्धि देखिन थालेको मुटुरोग विशेषज्ञ डा। अनिल भट्टराईले बताए ।
तनाव, अनियमित जीवनशैली, धुम्रपान, मद्यपान, असन्तुलित आहार र पर्याप्त निद्राको अभावजस्ता कारणले जोखिम बढाउने गर्छन् । साथै, वंशाणुगत कारण पनि महत्त्वपूर्ण हुन सक्छ । डा। रेग्मीमा अनुसार, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले समस्या झन् जटिल बन्ने गरेको छ ।
मुटुको स्वास्थ्यबारे सचेत हुन समय–समयमा जाँच गराउनु आवश्यक रहेको उनको सुझाव छ । “केवल व्यायाम गर्ने वा दुब्लो देखिनु मात्र पर्याप्त हुँदैन, मुटुको वास्तविक अवस्था थाहा पाउन परीक्षण अनिवार्य हुन्छ,” उनी भन्छन् ।
युवाहरूमा किन बढ्यो ?
पछिल्लो समय प्रतिस्पर्धात्मक जीवन हुँदा अत्याधिक तनावका कारण हृदय रोग बढेको चिकित्सकले बताएका छन् । जंक फूड खाने तथा धुम्रपान र मध्यपान गर्ने युवाहरूमा हृदयघात हुने सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन् । पछिल्लो १० वर्षको ट्रेन्ड हेर्दा ३५ वर्षभन्दा तलका युवाहरूमा हृदयघात भएको देखिएको छ । राति ढिलासम्म बस्ने तथा अस्वस्थ्य बानी व्यवहारका कारण युवाहरूका हृदयघातको समस्या भएको उनीहरूको भनाइ छ ।
कोभिडपछि बढ्यो हृदय रोग
कोभिड–१९ को महामारीको असर लामो समयसम्म रहिरहेको चिकित्सकहरूको भनाइ छ । कोरोना रोग निको भएपछि पनि धेरै मानिसमा विभिन्न दीर्घकालीन स्वास्थ्य समस्या देखिने गरेको जसमा हृदयसम्बन्धिका जटिलता अग्रस्थानमा छन् ।
अमेरिकाको एक अध्ययनका अनुसार, कोरानापछि धेरै मान्छेमा हृदयघातको समस्या बढेको बताइएको छ । कोभिड संक्रमणपछि तीन वर्षसम्म हृदयाघात, स्ट्रोक तथा मृत्युको जोखिम उल्लेखनीय रूपमा बढेको बताइएको छ ।
वर्ल्ड हार्ट फेडरेसनले प्रकाशन गरेको उक रिपोर्टका अनुसार, पनि कोभिड–१९ देखा परेको करिब पाँच वर्ष बितिसक्दा पनि यसको दीर्घकालीन प्रभावहरू विश्वभर अझै देखिइरहेका छन् । जसले मुटु र रक्तनली प्रणालीमा दीर्घकालीन असर छाडेको बताइएको छ । सन् २०२५ मा प्रकाशित ठूला अध्ययनहरूले कोभिड–१९ ले हृदय र रक्तसञ्चार प्रणालीमा कसरी प्रभाव पार्छ भनेको छ ।
तनाव वा अन्य कारण ?
हृदयाघात, अनियमित धड्कन, हृदय मांसपेशी कमजोर हुने अवस्था, जन्मजात हृदय रोगजस्ता कारणहरूले ुकार्डियक अरेस्टु निम्तिन सक्छ ।
तर, यसबाहेक पनि अक्सिजनको कमी, अत्यधिक रक्तस्राव, नशालु पदार्थको ओभरडोज, इलेक्ट्रोलाइटको असन्तुलन वा करेन्टको झट्काजस्ता कारणले पनि यो समस्या उत्पन्न हुने चिकित्सकहरू बताउँछन् । तनावयुक्त जीवनशैली, अत्यधिक मदिरा सेवन, धुम्रपान, उच्च रक्तचाप, मोटोपन र पारिवारिक इतिहासले समेत हृदयमा गहिरो असर पार्ने गरेको विज्ञहरूको भनाइ छ ।
सतर्कता नै सुरक्षा
मुटु रोग विशेषज्ञहरूका अनुसार, कार्डियक अरेस्टजस्ता समस्याबाट बच्नको लागि जीवनशैलीमा सचेतता र नियमित स्वास्थ्य परीक्षण अत्यावश्यक छ ।
सन्तुलित आहार, दैनिक व्यायाम, पर्याप्त निद्रा र तनाव नियन्त्रणले हृदयको स्वास्थ्य जोगाउन सकिन्छ ।
फास्ट फुड, अत्यधिक चिल्लो र नुनयुक्त खानाको साटोमा फलफूल, सागसब्जी, होल ग्रेन र प्रोटिनयुक्त आहार अपनाउनु उपयोगी हुन्छ । साथै, रक्तचाप, सुगर, कोलेस्ट्रोल, ईसीजीजस्ता परीक्षण समयसमयमा गराउनु अनिवार्य छ ।
कोभिड संक्रमण भइसकेका बिरामीलाई अझ बढी सतर्क रहन चिकित्सकहरूको सल्लाह छ । थकान, छाती दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु जरूरी हुन्छ ।
‘फिट’ देखिनु मात्र पर्याप्त छ ?
आजका दिनमा ‘फिट’ देखिनु मात्र पर्याप्त नभएको विशेषज्ञहरूको भनाइ छ । फिटनेसको बाहिरी आभासले मानिसलाई पूर्ण रूपमा स्वस्थ सावित गर्न सक्दैन । कुनै लक्षण नदेखिए पनि समय समयमा हृदयसम्बन्धी परीक्षण गर्नु, जीवनशैली सन्तुलित बनाउनु, तनाव व्यवस्थापन गर्नु र आवश्यक सावधानी अपनाउनु अहिलेको परिस्थितिमा जीवनरक्षक सावधानी बन्न पुगेको छ ।
पछिल्लो दशकमा ५ गुणाले हृदयघात बढेको पाइएको छ । नेपाल हेल्थ रिसर्च काउन्सिल गरेको अनुसन्धानका अनुसार, नेपालमा २७ प्रतिशत मानिसको मुटु तथा रक्तनलीको रोगका कारण मृत्यु भएको पाइएको छ । चिकित्सकका अनुसार, सामान्य रूपमा स्वस्थ देखिने, नियमित व्यायाम गर्ने र कुनै लक्षण नदेखिएका व्यक्तिहरू समेत अचानक बेहोस भई मृत्यु हुने अवस्था अत्यन्त चिन्ताजनक छ ।