काठमाडौं शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
‘एनेक्स–१’ को शय्या नम्बर ५०१ मा उनको २४ सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
ओलीमा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलासम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी र मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए ।
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । ओली शारीरिक तथा मानसिक रूपमा तयार भएपछि मात्र शल्यक्रिया गरिने रोस्यालले जानकारी दिए । उनका अनुसार, शल्यक्रिया गर्नैपर्ने अवस्था भए पनि तत्काल अन्य स्वास्थ्य जटिलताका कारण शल्यक्रियाको निर्णय लिइएको छैन ।
लीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
शनिबार बिहानदेखि भर्ना भएका ओलीलाई अब ‘डिस्चार्ज’ गर्न सकिने उनीहरूको भनाई छ । ‘सबै रिपोर्ट नर्मल नै आएको छ । चिकित्सकीय छलफलले उहाँलाई डिस्चार्ज गर्न सकिने निचोड छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।
ओलीले शनिबार बिहान मुटुमा समस्या भएको बताएपछि चिकित्सकले थप परीक्षण गरेका थिए । आइतबार ओलीको शरीरमा मुटुको धड्कनसम्बन्धी समस्या हेर्न लागि ‘होल्टर मोनिटर’ राखिएको थियो । उक्त उपकरण मुटुको धड्कनको अवस्था हेर्नका २४ देखि ४८ घन्टासम्म लागि गर्छ । रिपोर्टमा मुटुको चाल पनि ठीक रहेको पाइएको ती चिकित्सकले बताए ।
तर, पिसाबमा भने संक्रमण देखिएपनि कुनै लक्षण देखिएको छैन । त्यसका लागि चिकित्सकले कल्चरको नुमना लिएका छन् ।
‘पिसाब परीक्षणमा केही ब्याक्टेरिया देखिएको छ । तर खासै लक्षण देखाएको अवस्था छैन,‘ ती चिकित्सकले भने,‘थप पुष्टि गर्न ‘युरिन कल्चर’ परीक्षण गराइएको छ ।’
शनिबार गरिएको एक्स–रेमा ओलीको पित्तथैलीमा ढुंगा देखिएको थियो । तर, हालको अवस्थामा शल्यक्रिया गर्नुपर्ने तत्काल आवश्यकता भने नदेखिएको चिकित्सकहरूको भनाइ छ । ग्यास्ट्रो सर्जनहरूको टोलीले समेत ओलीको स्वास्थ्य अवस्थालाई हेर्दा अहिले नै अप्रेसन गर्नु जोखिमपूर्ण हुन सक्ने सुझाव दिएको ती चिकित्सकले बताए ।
दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेका कारण, धेरै उमेर र मुटुको बिरामी भएका कारणले पनि चिकित्सकले अप्रेशन गर्न जोखिम नलिएको बुझिएको छ ।
‘तर, ओलीले भने ढुंगा निकालेर समस्या समाधान गरिदिनुपर्ने इच्छा व्यक्त गरेका छन् ।
‘उहाँले भने ओली ढुंगा बढ्दै गएकाले अप्रेसन गरेर निकालिदिए हुन्छ भन्नुहुन्छ,’ ती चिकित्सक भन्छन्,‘तर अहिलेको अवस्थामा जोखिम मूल्यांकन गरेर निर्णय लिनुपर्छ ।’
अस्पताल स्रोतका अनुसार ओलीको समग्र स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएकाले डिस्चार्ज गर्न सकिने सम्भावना छ ।
‘अहिलेको अवस्थालाई हेर्दा उहाँलाई (ओली) धेरै दिन अस्पताल राखिरहनु पर्ने देखिँदैन,’ अर्का एक चिकित्सकले भने, ‘एक–दुई दिन निगरानीमा राखेर डिस्चाh{ गर्न सकिने अवस्था देखिन्छ ।’
त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का पनि सोही अस्पतालमा उपचाररत छन् । आइतबार पक्राउ परेका उनलाई स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।
बान्ता तथा पखालाका कारण अस्पताल भर्ना भएका खड्काको स्वास्थ्य अवस्था सुधारात्मक रहेको अस्पतालले जनाएको छ । उनको बान्ता रोकिए पनि पखाला भने नरोकिएको अस्पतालका सहायक प्रवक्ता रोस्याराले भने ।