काठमाडौं – नेपालमा तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) नियन्त्रणमा आउन नसक्दा अवस्था थप जटिल बन्दै गएको छ। पछिल्लो पटक ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जीवजन्तुमा संक्रमण पुष्टि भएपछि रोगको जोखिम नयाँ तहमा पुगेको छ। संक्रमण पुष्टि भएको जानकारी तीन दिनसम्म सार्वजनिक नगरिएको आरोप लागेपछि चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु भएको छ।
पशु सेवा विभागका अनुसार असार २ गते चिडियाखानाका केही जीवजन्तुमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना परीक्षणका लागि पठाइएको थियो। परीक्षणबाट असार ३ गते नै संक्रमण पुष्टि भएको थियो। विभागले सोही दिन आवश्यक समन्वयका लागि प्राविधिक टोली पठाए पनि चिडियाखाना प्रशासनले सार्वजनिक सूचना जारी गर्न भने तीन दिन ढिला गरेको आरोप छ।
चिडियाखानाले असार ५ गते मात्रै ‘जीवजन्तुमा बर्ड फ्लु देखिएकाले अर्को सूचना नभएसम्म बन्द गरिएको’ सूचना जारी गरेको थियो। संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराएको आरोपमा प्रमुख साहमाथि अनुसन्धान थालिएको हो।
कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरी को निर्देशनमा छानबिन समिति गठन गरिएको छ। कोषका प्रवक्ता रचना शाहको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
तीन महिनादेखि नियन्त्रणबाहिर
नेपालमा यस वर्षको बर्ड फ्लु संक्रमण पहिलो पटक चैत्र ६ गते कोशी प्रदेशको मोरङ जिल्लामा पुष्टि भएको थियो। त्यसयता संक्रमण लगातार फैलिँदै अहिले कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगिसकेको छ।
पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहाल का अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, बारा, महोत्तरी र नवलपरासी पश्चिममा संक्रमण पुष्टि भइसकेको छ।
उनका अनुसार नेपालमा पहिलो पटक यति लामो समयसम्म बर्ड फ्लु नियन्त्रणमा आउन सकेको छैन। विशेषगरी काठमाडौं उपत्यका अहिले संक्रमणको ‘हटस्पट’ बनेको छ। विभागले हालसम्म पाँच लाखभन्दा बढी कुखुरा, १० लाख ५० हजार अण्डा र दुई लाख ५० हजार किलोभन्दा बढी दाना नष्ट गरिसकेको छ।
जंगली चराबाट मानवसम्मको जोखिम
विश्व पशु स्वास्थ्य संगठनका अनुसार बर्ड फ्लु इन्फ्लुएन्जा ‘ए’ समूहअन्तर्गत पर्ने भाइरसबाट हुने संक्रामक रोग हो। विशेषगरी ‘एच–फाइभ एन–वान (H5N1)’ भाइरसले चराचुरुङ्गीमा महामारी फैलाउने गर्छ।
विशेषज्ञहरूका अनुसार जंगली पन्छीहरू विशेषगरी सिमसार क्षेत्रमा बस्ने चराहरू संक्रमणको मुख्य स्रोत मानिन्छन्। ती पन्छीबाट घरेलु कुखुरा तथा अन्य पक्षीमा संक्रमण फैलिने गर्छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन का अनुसार बर्ड फ्लु अहिले पशु र चराचुरुङ्गीबाट मानिससम्म सर्ने जोखिमका कारण विश्वव्यापी चिन्ताको विषय बनेको छ।
उनले संक्रमित चराको बिष्टा, र्याल, सिँगान, प्वाँख, मासु, अण्डा, दाना, अण्डा राख्ने क्रेट तथा अन्य सामग्रीको सम्पर्कबाट भाइरस फैलिन सक्ने बताए।
खोप छैन, उपचार पनि छैन
बर्ड फ्लु नियन्त्रणको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको यसको प्रभावकारी खोप र उपचारको अभाव हो। पशु सेवा विभागका अनुसार हाल संक्रमण देखिएका कुखुरा तथा पक्षी नष्ट गर्नु नै भाइरस नियन्त्रणको मुख्य उपाय हो।
विशेषज्ञहरूका अनुसार अण्डाका क्रेट पुनः प्रयोग गर्ने, जैविक सुरक्षा मापदण्ड पालना नगर्ने र फार्ममा सरसफाइको कमी हुने ठाउँमा संक्रमण तीव्र गतिमा फैलिने गरेको छ।
डा पुनका अनुसार मानिसमा संक्रमण भए मृत्यु दर ५० प्रतिशतसम्म पुग्न सक्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्। नेपालमा सन् २०१९ मा एक व्यक्तिको बर्ड फ्लुका कारण मृत्यु भएको पुष्टि भएको थियो।
राज्यको तयारीमाथि प्रश्न
जावलाखेल चिडियाखानासम्म संक्रमण पुग्नु र संक्रमण पुष्टि भएको सूचना सार्वजनिक गर्न ढिलाइ हुनु सरकारी संयन्त्रको तयारी र सूचना व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाउने घटना बनेको छ।
विशेषज्ञहरूका अनुसार राजधानी उपत्यकासहित देशका विभिन्न जिल्लामा संक्रमण फैलिइरहेका बेला निगरानी, जैविक सुरक्षा र जनचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नसके संक्रमणले पशुपालन क्षेत्रसँगै सार्वजनिक स्वास्थ्यमा समेत ठूलो जोखिम निम्त्याउन सक्छ।
बर्ड फ्लु अहिले केवल कुखुरा फार्मको समस्या मात्र नभई वन्यजन्तु संरक्षण, खाद्य सुरक्षा र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौतीका रूपमा देखिन थालेको छ। सरकार, किसान र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन नसके आगामी दिनमा यसको प्रभाव अझ व्यापक बन्न सक्ने विज्ञहरूको चेतावनी छ।