काठमाडौं- भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषबाट उद्धार गरिएकी एक गर्भवती महिलाले खुला सडकमै सुरक्षित रूपमा बच्चा जन्माएकी छन्। उद्धार अभियानकै बीच भएको यो घटनालाई चिकित्सकहरूले ‘चमत्कार’को संज्ञा दिएका छन्।
गत जुन २३ को साँझ भेनेजुएलामा क्रमशः ७.१ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो। दोस्रो भूकम्पलाई दक्षिण अमेरिकी उक्त देशमा पछिल्लो एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।
सबैभन्दा बढी प्रभावित तटीय सहर लागुआइरामा भत्किएको भवनको भग्नावशेषबाट ती महिलालाई उद्धार गरिएको केही समयमै प्रसव पीडा सुरु भएको थियो।
आपत्कालीन अवस्थामा चिकित्सक डा. मारिया फर्नान्डा टेरानले अँध्यारो सडकमै सुरक्षित रूपमा सुत्केरी गराएकी थिइन्। उनले उक्त घटनाको भिडियो आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।
भिडियोमा डा. टेरान सडकमै घुँडा टेकेर प्रसूति गराइरहेको तथा नवजात शिशुलाई आमाले काखमा लिएको भावुक दृश्य देखिन्छ। वरिपरि उद्धारकर्मी र स्थानीय बासिन्दाहरूको भीडले यो क्षणलाई प्रत्यक्ष नियालिरहेको देख्न सकिन्छ।
घटनाबारे डा. टेरानले लेखेकी छन्, "भूकम्पले धर्ती हल्लिरहेका बेला एउटा बच्चालाई संसारमा ल्याउनु मेरो जीवनकै सबैभन्दा ठूलो चुनौती थियो।"
दक्षिण अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था स्थिर छ। सुरक्षाका कारण महिलाको परिचय भने सार्वजनिक गरिएको छैन।
भूकम्पको क्षति भयावह
सरकारी अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ भने ५ हजार ३४ जना घाइते भएका छन्। हजारौँ मानिस अझै बेपत्ता रहेको जनाइएको छ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी छ। राहत तथा उद्धार कार्य अपेक्षाकृत सुस्त भएको भन्दै सरकारको आलोचना भइरहेको छ। यद्यपि, सरकारी अधिकारीहरूले राहत वितरण, अस्थायी आवास निर्माण तथा पूर्वाधार पुनर्स्थापनाको काम तीव्र पारिएको बताएका छन्।
यो घटनाले प्राकृतिक विपत्तिको भीषण अवस्थामाझ पनि नयाँ जीवनको जन्मले आशा र मानवीय साहसको प्रेरणादायी सन्देश दिएको भन्दै विश्वभर चर्चा बटुलेको छ।