काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण फैलिएपछि हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ।
जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही सातायता व्यावसायिक पोल्ट्री फार्ममा बर्डफ्लुको संक्रमण देखिएपछि संक्रमित तथा जोखिममा रहेका हाँस र कुखुरा नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो।
संक्रमण बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही व्यावसायिक पोल्ट्री फार्ममा पुष्टि भएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरले जानकारी दिए।
उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
नियन्त्रण अभियान तीव्र
कार्यालयले संक्रमण नियन्त्रणका लागि नमुना परीक्षण, संक्रमित क्षेत्रको व्यवस्थापन तथा कुखुरा र कुखुराजन्य सामग्रीको ओसारपसारमा निगरानी कडा पारिएको जनाएको छ।
यद्यपि, प्रयोगशालाबाट परीक्षणको नतिजा आउन ढिलाइ हुँदा प्रदेश र स्थानीय तहले समयमै आवश्यक नियन्त्रणका उपाय लागू गर्न नसकेको र यसले संक्रमण विस्तारमा असर पारेको अधिकारीहरूको भनाइ छ।
पोल्ट्री व्यवसायीलाई जैविक सुरक्षा अपनाउन आग्रह
वरिष्ठ पशु चिकित्सक डा. ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटी (जैविक सुरक्षा) का मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेका छन्।
उनले कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षा सामग्री प्रयोग गर्न, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न तथा कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न व्यवसायीहरूलाई अनुरोध गरेका छन्।
चेकपोस्टमा निगरानी कडा
संक्रमण थप फैलिन नदिन जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा कुखुरा ओसारपसार हुन नदिन निगरानी कडा पारिएको कार्यालयले जनाएको छ।
यसअघि गत चैतमै काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लुको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो। देशका विभिन्न जिल्लामा संक्रमण देखिएसँगै यी जिल्लामा पनि जोखिम बढ्न सक्ने भन्दै सुरक्षा उपायहरू कडा पारिएका थिए।
पशु सेवा कार्यालयले किसान तथा पोल्ट्री व्यवसायीलाई कुखुरामा असामान्य रूपमा बिरामी पर्ने वा मर्ने लक्षण देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।