मकवानपुर- लगातारको वर्षासँगै आएको पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ शुक्रबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भिमफेदी गाउँपालिका–८ भरेङडाँडा क्षेत्रमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।
प्रहरीले मकवानपुर र ललितपुरको सीमाक्षेत्र पर्ने बागमती गाउँपालिकाका विभिन्न स्थानमा पनि पहिरो खसेको जनाएको छ। निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउने कार्य तत्काल सुरु गर्न कठिनाइ भएको र मौसममा सुधार आएपछि मात्रै सडक खुलाउने प्रयास गरिने जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार अर्को सूचना जारी नभएसम्म कान्तिलोकपथ भएर यात्रा नगर्न र अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सबै सवारी चालक तथा यात्रुलाई अनुरोध गरिएको छ।
प्रहरीले वर्षायाममा पहिरोको जोखिम उच्च रहेकाले यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ।