काठमाडौं- पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका श्रद्धालुहरूको गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको गोरखपुर स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमार रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट सुनका सिक्री, झुम्का, मुन्द्रा, मंगलसूत्र, चाँदीका औँठी, पाउजु, सिक्री, ब्रासलेट, लकेटलगायत विभिन्न गरगहना बरामद गरिएको छ। साथै नेपाली रुपैयाँ १ लाख १५ हजार ५०० र भारतीय रुपैयाँ ८० हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनलाई लक्षित गरी गरगहना लुटपाट गर्ने गरेको आशंका गरिएको छ। प्रहरीले बरामद गरिएका गरगहनाका वास्तविक धनीको पहिचान गर्ने तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जनाएको छ।