काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बिहानदेखि बन्द भएका छन्। निजी पम्प सञ्चालन नभएपछि सर्वसाधारण इन्धन भर्नका लागि भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प र नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा ठूलो भीड लागेको छ।
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गर्दै बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले कमी गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) मा प्रतिकिलोलिटर २६५ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।
संशोधित मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, १९६ रुपैयाँ र १९७ रुपैयाँ कायम भएको छ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ भने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ र आधा सिलिन्डरको मूल्य १ हजार ३० रुपैयाँ तोकिएको छ।
उल्लेख्य रूपमा मूल्य घटाइएपछि पुरानो मूल्यमा खरिद गरिएको मौज्दातका कारण घाटा हुने भन्दै धेरै निजी पेट्रोल पम्पले बुधबार बिहानदेखि बिक्री वितरण स्थगित गरेका छन्। यसका कारण सरकारी स्वामित्वका सुरक्षा निकायका पेट्रोल पम्पमा इन्धन भर्ने सवारीसाधनको लामो लाइन लागेको देखिएको छ।