काठमाडौं- नेपालको भूमि तथा सीमाको संरक्षणका मागसहित सुस्ता बचाउ अभियानकर्ताहरूले मुसलधारे वर्षाको समेत पर्वाह नगरी काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना जारी राखेका छन्।
सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले नेपालको भूमि तथा सीमामाथिको अतिक्रमण तत्काल रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न, सुस्ताबासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रका बासिन्दाले वर्षौंदेखि नागरिकता, भूमि अधिकार र सीमासम्बन्धी समस्याबाट सास्ती खेप्दै आएको उल्लेख गर्दै सरकारले आफ्ना मागप्रति गम्भीर हुनुपर्ने बताएका छन्।
मुसलधारे वर्षाका बीच पनि माइतीघर मण्डलामा धर्ना जारी राख्दै उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
यद्यपि, आन्दोलन सुरु भएको यतिका समय बितिसक्दा पनि सरकारले सुस्ताबासीका मागबारे कुनै औपचारिक सम्बोधन वा वार्ताको पहल नगरेको अभियानकर्ताहरूको गुनासो छ।