काठमाडौं- फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै १९८६ पछि पहिलो पटक नकआउट चरणमा स्थान बनाएसँगै देशभर खुसीयाली छायो। तर उक्त ऐतिहासिक जितको उत्सव मनाउने क्रममा राजधानी मेक्सिको सिटीमा समर्थकहरूको अत्यधिक भीडका कारण तीन जनाको ज्यान गएको छ।
बीबीसीका अनुसार मेक्सिको सिटीमा विजय उत्सव मनाउन सडकमा उत्रिएका लाखौं समर्थकबीच निस्सासिँदा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक महिला र ४४ वर्षीय एक पुरुषको मृत्यु भएको हो।
मेक्सिको सिटी स्वास्थ्य प्राधिकरणका अनुसार अत्यधिक भीडका कारण उनीहरू श्वासप्रश्वासमा अवरोध (सफोकेसन) भई गम्भीर अवस्थामा पुगेका थिए। उद्धारकर्मीले पासेओ दे ला रिफोर्माका विभिन्न स्थानबाट उनीहरूलाई बेहोस अवस्थामा उद्धार गरी प्राथमिक उपचार र सीपीआर दिएपछि अस्पताल पुर्याएका थिए। तर उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। पछि परिवारका सदस्यले मृतकहरूको पहिचान पुष्टि गरेका हुन्।
ऐतिहासिक जितपछि राजधानी मेक्सिको सिटीका सडकमा १० लाखभन्दा बढी समर्थक भेला भएका थिए। विशेषगरी शहरको केन्द्रमा रहेको एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक आसपास मानिसहरूको अत्यधिक भीड लागेको स्थानीय प्रशासनले जनाएको छ।
घटनापछि मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले विजय उत्सव मनाउँदा जिम्मेवार, संयमित र एकअर्काप्रति संवेदनशील हुन समर्थकहरूलाई आग्रह पनि गरेकी छन्।
खेलअघि नै मेयर ब्रुगाडाले एन्जेल अफ इन्डिपेन्डेन्स क्षेत्रमा अत्यधिक भीड भइसकेकाले त्यहाँ खेल हेर्न वा उत्सव मनाउन नजान सार्वजनिक अपिल गरेकी थिइन्। तर मेक्सिकोको ऐतिहासिक जितसँगै समर्थकहरूको उत्साह नियन्त्रणभन्दा बाहिर पुगेको थियो।
जितपछि इस्टाडियो आजतेका तथा राजधानीका विभिन्न स्थानमा रातभर आतिशबाजी र उल्लासपूर्ण उत्सव चले पनि सोही क्रममा धेरै मानिस बिरामी तथा घाइते भएपछि आपत्कालीन उद्धार टोली र स्वास्थ्यकर्मीलाई निरन्तर परिचालन गर्नुपरेको थियो।
करिब दुई करोड जनसंख्या रहेको मेक्सिको सिटी विश्वकै अत्यधिक जनघनत्व भएका महानगरीय क्षेत्रमध्ये एक मानिन्छ। यसपटक विश्वकपको ऐतिहासिक सफलताको खुसी अत्यधिक भीडका कारण दुःखद घटनामा परिणत भएको छ।
यस जितसँगै मेक्सिको विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। अब उसले क्वार्टरफाइनल पुग्न इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।