२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

आफ्नो ज्यान गुमाएर १४ यात्रुको ज्यान जोगाए चालक चन्द्रबहादुर बुढाथोकी

आफ्नो ज्यान गुमाएर १४ यात्रुको ज्यान जोगाए चालक चन्द्रबहादुर बुढाथोकी

बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • चितवन — यात्रुवाहक ईभी भ्यानका चालक चन्द्रबहादुर बुढाथोकीले आफ्नो जीवनको अन्तिम क्षणसम्म संयमता र जिम्मेवारी प्रदर्शन गर्दै १४ यात्रुको ज्यान बचाएका छन्।

    बुधबार (असार १७ गते) दिउँसो करिब ४ बजे नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको ईभी भ्यान चितवनको रत्ननगर नगरपालिका–९ स्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक पुगेपछि ५५ वर्षीय चालक बुढाथोकीको स्वास्थ्य एक्कासि बिग्रिएको थियो।

    प्रत्यक्षदर्शीका अनुसार उनले एक हातले गाडी चलाउँदै पानी खाएपछि असहज महसुस गरेका थिए। केहीबेरमै उनले गाडीको गति घटाउँदै सुरक्षित रूपमा सडक किनारमा रोके। गाडी रोकिनासाथ उनी हिक्क–हिक्क गर्न थाले र स्टेरिङमै बेहोस भए।

    बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी बुढाथोकीलाई तत्काल प्रहरीको सहयोगमा एम्बुलेन्समार्फत बकुलहर अस्पताल, टाँडी लगिएको थियो। तर, चिकित्सकले अपराह्न ४ः५० बजे उनलाई मृत घोषणा गरे।

    प्रहरीका अनुसार चालकले अन्तिम क्षणसम्म सवारी नियन्त्रणमा राखेर सडक किनारमा रोकेकाले सम्भावित ठूलो दुर्घटना टरेको हो। भ्यानमा सवार सबै १४ यात्रु सकुशल रहेका छन्।

    सोही भ्यानका यात्रु दीपक कुमारले चालकको संयमताको प्रशंसा गर्दै भने, “अगाडि मन्दिर देखेर गाडी बिस्तारै रोकेको होला भन्ने लागेको थियो। तर गाडी रोकिएपछि अगाडिको सिटमा बसेकाले ‘गुरुजीलाई के भयो’ भनेर कराए। हेर्दा उहाँको मुखबाट र्‍याल झरिरहेको थियो। त्यसपछि प्रहरी आएर तुरुन्त अस्पताल लग्यो।”

    घटनापछि प्रहरीले यात्रुहरूको व्यवस्थापन गरी उनीहरूलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाएको जनाएको छ।

    चालक बुढाथोकीले क्षणभरका लागि पनि सवारीको नियन्त्रण गुमाएको भए ठूलो दुर्घटना हुन सक्ने जोखिम थियो। तर, उनले अन्तिम साससम्म धैर्यता, साहस र व्यावसायिक जिम्मेवारी प्रदर्शन गर्दै सम्भावित मानवीय क्षति हुनबाट जोगाएका छन्।

    यस घटनाप्रति विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ। एमाले नेता सुरेन्द्र पाण्डे ले सामाजिक सञ्जालमार्फत बुढाथोकीको साहसको प्रशंसा गर्दै लेखेका छन् कि उनले मृत्युको मुखमा पुग्दापुग्दै पनि यात्रुहरूको जीवन जोगाउन अन्तिम क्षणसम्म प्रयास गरे। पाण्डेले यो घटनाले सवारी चालकहरूको पेशागत प्रतिष्ठा अझ उँचो बनाएको उल्लेख गर्दै दिवंगत चालकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend