काठमाडौं- गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले दूधराज तामाङलाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको हो। उनीमाथि आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काभ्रे स्थायी घर भएका तामाङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध रहेको बताइएको छ। उनी यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहेका थिए।
यसअघि पनि तामाङ सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त) को माला लुटपाट प्रकरणमा पक्राउ परेका थिए। उक्त घटनामा सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटिएको भन्दै सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ, शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटसम्बन्धी उजुरी दर्ता भएको थियो।
सो प्रकरणमा प्रहरीले सत्यमान लामा र दूधराज तामाङसहितका केही आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। हालको पक्राउ पनि छुट्टै आपराधिक गतिविधिसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।