काठमाडौं- शुक्रबार राति परेको अविरल वर्षापछि वाग्मती नदीमा आएको बाढीले कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ आश्रय लिइरहेका सुकुमवासीको बिचल्ली भएको छ।
राति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पस्न थालेपछि केही समयमै पानीको सतह तीव्र रूपमा बढेको थियो। त्यसबेला सेन्टरमा १५४ जना सुकुमवासी बसोबास गरिरहेका थिए। अधिकांश मानिस निदाइरहेका बेला एक्कासि बाढी पसेपछि उनीहरू ज्यान जोगाउने कि सरसामान बचाउने भन्ने अन्योलमा परेका थिए।
सूचना पाएपछि नेपाल प्रहरीसहितको संयुक्त उद्धार टोली डुङ्गासहित घटनास्थल पुगेको थियो। उद्धार टोलीले ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरेको थियो। अन्य केही परिवार आफन्तकहाँ आश्रय लिन पुगेका छन् भने केही अझै होल्डिङ सेन्टर आसपासमै बसिरहेका छन्।
बाढीले बगायो जीवनभरको जोहो
बाढीले अधिकांश परिवारको अन्नपात, लुगाफाटा, भाँडाकुँडा, ओढ्ने–ओछ्याउने सामग्री र दैनिक उपभोगका सामान नष्ट गरेको छ। अहिले होल्डिङ सेन्टर हिलो, लेदो र दुर्गन्धले भरिएको छ। निरन्तर वर्षा भइरहेकाले फेरि बाढी आउने त्रासमा सुकुमवासीहरू बस्न बाध्य छन्।
"हामीलाई जोगाउन ल्याएको ठाउँमै फेरि डुबायो"
होल्डिङ सेन्टरमा बस्दै आएकी मेनुका गुरुङले सरकारले सुरक्षित व्यवस्थापन गर्ने भन्दै पुरानो बस्तीबाट हटाएर ल्याए पनि अहिले झन् ठूलो पीडा भोग्नुपरेको बताइन्।
उनका अनुसार चामल, चिउरा, बिस्कुट, लुगाफाटा मात्रै होइन, बिहान बालबालिकालाई खुवाउन जोगाएर राखिएको खाना समेत बाढीले नष्ट गरेको छ।
सरकारले आफूहरूलाई उचित व्यवस्थापनको आश्वासन दिएर विस्थापित गरे पनि अहिले थप असुरक्षित अवस्थामा पुर्याएको भन्दै उनले सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरिन्।
बिरामी श्रीमान्, सानो बच्चा र औषधि सबै बाढीले बगायो
गीता लामाको पीडा अझ गहिरो छ। राति बाढी पस्दा उनी निद्रामै थिइन्। ब्यूँझिँदासम्म घरभित्रका सामान पानीमा डुबिसकेका थिए।
उनका श्रीमान् डिप्रेसनलगायत स्वास्थ्य समस्याबाट पीडित छन् र नियमित औषधि सेवन गर्नुपर्छ। तर बाढीले औषधि, औषधिको पुर्जा र खानेकुरा सबै नष्ट गरिदिएपछि अब उपचार कसरी निरन्तर गर्ने भन्ने चिन्ता थपिएको उनले बताइन्।
साथै, थापाथलीबाट विस्थापित भएपछि रोजगारीसमेत गुमेकाले परिवारको गुजारा कसरी चलाउने भन्ने अर्को समस्या थपिएको उनको भनाइ छ।
बिरामी र वृद्ध सुकुमवासी थप समस्यामा
होल्डिङ सेन्टरमा बस्दै आएकी रस्मिला उप्रेतीले पनि आफू उपचाररत रहेको औषधि बाढीले बगाएको बताइन्।
त्यस्तै, राजकुमार माझीले नियमित सेवन गर्ने औषधि र खानपानका लागि जोहो गरेर राखिएको सम्पूर्ण सामग्री बाढीले नष्ट गरेको बताए। आर्थिक अवस्था कमजोर भएकाले फेरि औषधि र खाद्यान्न जुटाउन कठिन हुने उनको गुनासो छ।
सुरक्षित पुनर्स्थापनाको माग
सुकुमवासीहरूले आफूहरूलाई असुरक्षित स्थानमा राखिएको भन्दै सरकारसँग सुरक्षित स्थानमा स्थायी तथा सम्मानजनक पुनर्स्थापनाको माग गरेका छन्। उनीहरूको भनाइमा, पहिले राज्यको डोजरबाट विस्थापित हुनुपरेको र अहिले प्राकृतिक विपत्तिको दोहोरो मार खेप्नुपरेको छ।
बाढीबाट ज्यान जोगिए पनि जीवनभरको कमाइ, दैनिक उपभोगका सामग्री, औषधि र आश्रय गुमाएका सुकुमवासीहरू अहिले तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन पुनर्स्थापनाको प्रतीक्षामा छन्।