विराटनगर- काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमवासीलाई सहयोग गर्न पुगेका जेनजी युवामाथि भएको प्रहरी कारबाहीको विरोधमा मोरङमा प्रदर्शन गर्न खोज्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार रातिको अविरल वर्षापछि वाग्मती नदीमा आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीको अवस्था दयनीय बनेको थियो। उनीहरूलाई राहत तथा सहयोग गर्न शनिबार पुगेका तीन जना जेनजी अभियन्तामध्ये माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
घटनाका क्रममा प्रहरीको कुटपिटबाट जेनजी अभियन्ता माजिद अन्सारीको टाउको र अनुहारमा चोट लागेको बताइएको छ। नहेन्द्र खड्का र सरिश्मा थापालाई भने पछि रिहा गरिएको थियो।
यही घटनाको विरोधमा शनिबार राति करिब ९ः३० बजे जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेट अगाडि धर्ना बस्न पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार रातिको समयमा सडक अवरुद्ध गरेर धर्ना दिन खोज्ने प्रदर्शनकारीलाई पटकपटक सम्झाइबुझाइ गर्दा पनि नमानेपछि नियन्त्रणमा लिनुपरेको हो। उनका अनुसार प्रदर्शनकारीहरूले प्रहरीको काममा अवरोध पुर्याउनुका साथै सवारीसाधनको आवागमनसमेत प्रभावित पारेका थिए।
प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।
पक्राउ परेकामध्ये अधिकांश विराटनगरका युवा रहेका छन् भने केही सप्तरी र सुनसरीका पनि छन्। पक्राउ पर्नेमा १७ देखि २९ वर्ष उमेर समूहका २६ जना रहेका छन्।