२०८३, कार्तिक २७ गते

समय लोड हुँदैछ...

देशभर मनसुन सक्रिय, आज पनि धेरै स्थानमा वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, आज पनि धेरै स्थानमा वर्षाको सम्भावना

सोमवार, आषाढ २९ २०८३
सोमवार, आषाढ २९ २०८३
  •  

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा आफ्नो सरदर स्थानभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई क्षेत्र नजिक रहेकाले अधिकांश क्षेत्रमा वर्षाको गतिविधि जारी रहने अनुमान गरिएको छ।

    सोमबार बिहान कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    आजको मौसम

    महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्र तथा मधेससहित तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

    रातिको समयमा पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। विशेषगरी कोसी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ।

    काठमाडौंमा वर्षा अझै जारी

    काठमाडौं उपत्यकामा आइतबार दिउँसोदेखि सुरु भएको वर्षा सोमबार बिहानसम्म जारी रहेको छ। मौसमविद् बिनु महर्जनका अनुसार अहिले उपत्यकामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षा गराउने प्रणाली क्रमशः कमजोर बन्दै गए पनि दिउँसो केही समय घाम लाग्ने र पुनः साँझ तथा रातितिर बादल विकास भई वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

    उनका अनुसार दिउँसोभन्दा साँझ र रातिको समयमा वर्षाको सम्भावना अझ बढी रहने देखिएको छ।

    भारी वर्षा भनेको कति?

    मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटर भए मध्यम, ५० देखि १०० मिलिमिटर भए भारी, १०० देखि २०० मिलिमिटर भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।

    वर्षाको सम्भावनामा प्रयोग हुने शब्दको अर्थ

    • एक–दुई स्थान : १० प्रतिशतभन्दा कम भूभाग
    • थोरै स्थान : १०–३० प्रतिशत भूभाग
    • केही स्थान : ३०–५० प्रतिशत भूभाग
    • धेरै स्थान : ५०–८० प्रतिशत भूभाग
    • अधिकांश स्थान : ८० प्रतिशतभन्दा बढी भूभाग

    मौसमविद्ले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी, खोला तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend