२०८३, कार्तिक २७ गते

समय लोड हुँदैछ...

प्रसारण लाइन मर्मतमा खटिएको विद्युत प्राधिकरणको टोली दुर्घटनामा, चालकसहित दुई जनाको मृत्यु

प्रसारण लाइन मर्मतमा खटिएको विद्युत प्राधिकरणको टोली दुर्घटनामा, चालकसहित दुई जनाको मृत्यु

मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • इटहरी- सुनसरीको दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा आएको अवरोध हटाउन रातिको समयमा परिचालित नेपाल विद्युत प्राधिकरणको टोली सवार स्कोरपिओ दुर्घटनामा पर्दा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक कर्मचारी घाइते भएका छन्।

    कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक सोमबार राति बा.१ ञ १६५१ नम्बरको स्कोरपिओ अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    दुर्घटनामा धरान उपमहानगरपालिका–१३ का करिब ३३ वर्षीय चालक बिर्खबहादुर राई र धरान–१६ का करिब ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। राई नेपाल विद्युत प्राधिकरणका करार सेवाका चालक तथा आचार्य प्राधिकरणका स्थायी हेल्पर थिए।

    दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले सोमबार राति करिब १२ः४५ बजे उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन्।

    प्रहरीका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको स्कोरपिओ सेउती पुलबाट करिब २०० मिटर दक्षिण, तरहरातर्फ पुगेपछि आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार राति ९ः५४ बजे दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि मर्मत तथा पेट्रोलिङका लागि टोली परिचालन गरिएको थियो। लाइनमा आएको अवरोधको पहिचान गरी मर्मत गर्ने उद्देश्यले गएको टोली दुर्घटनामा परेको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलले जानकारी दिए।

    दुर्घटनामा धरान–२० का करिब ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend