काठमाडौं - उखु किसानको २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई जना सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार रहेका छन्।
नेपाल प्रहरीले उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम नतिरी आपराधिक लाभ लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका क्रममा बक्यौता रकम, किसानसँग भएका आर्थिक कारोबार तथा कानुनी दायित्वसम्बन्धी विषयमा विस्तृत छानबिन गरिने प्रहरीले जनाएको छ।
उखु किसानहरूले लामो समयदेखि आफूहरूले बिक्री गरेको उखुको भुक्तानी नपाएको भन्दै पटक–पटक आन्दोलन गर्दै सरकारसँग न्यायको माग गर्दै आएका थिए। किसानको बक्यौता रकम असुली र जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने माग निरन्तर उठ्दै आएको थियो।
यस घटनाले उखु किसानको भुक्तानी विवाद फेरि एकपटक राष्ट्रिय बहसको विषय बनेको छ भने अनुसन्धानको निष्कर्षपछि थप कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।