काठमाडौं– मुग्लिङ–नागढुंगा सडकखण्ड (पृथ्वी राजमार्ग) अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङमा ठूलो सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६:२० बजे सडकमाथिबाट एक्कासी ठूलो परिमाणमा सुख्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरी, सडक विभाग तथा सम्बन्धित निकायको समन्वयमा डोजरसहित आवश्यक उपकरण प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पहिरोका कारण काठमाडौं–पोखरा, चितवन, बुटवल तथा अन्य गन्तव्यतर्फ आवतजावत गर्ने सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यात्रुहरू सुरक्षित स्थानमा बस्न बाध्य भएका छन् भने सडक खुल्ने समय भने अझै निश्चित हुन सकेको छैन।
यसैबीच, जिल्ला प्रशासन कार्यालय धादिङले जवाङ खोलानजिक ठूलो पहिरो खसेको र पहिरो झर्ने क्रम अझै जारी रहेकाले थप जोखिम रहेको जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै प्रशासनले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ।
नेपाल प्रहरीले अत्यावश्यक कामबाहेक उक्त सडकखण्ड प्रयोग नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सडक विभागका प्राविधिक टोलीले पहिरो हटाउने काम जारी राखेको छ। पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकेसम्म सडक सञ्चालनमा ल्याउन कठिनाइ हुने जनाइएको छ। यात्रुलाई सम्बन्धित निकायबाट जारी हुने पछिल्लो सूचना पछ्याएर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ।