२०८३, कार्तिक २६ गते

समय लोड हुँदैछ...

२७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, अब २४ घण्टाभित्रै नयाँ लाइसेन्स छापिने

२७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, अब २४ घण्टाभित्रै नयाँ लाइसेन्स छापिने

बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं -लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को छपाइ कार्य सम्पन्न भएको छ। अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छापेर उपलब्ध गराइने भएको छ।

    सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको हो। यससँगै वर्षौंदेखि रहँदै आएको स्मार्ट लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार निर्धारित समयमै १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी आवेदन व्यवस्थापन गर्न २०८३ वैशाख ४ गते दोस्रो चरणको सम्झौता गरी थप १५ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सुरु गरिएको थियो। दोस्रो चरणको काम पनि २०८३ असार ३२ गते सम्पन्न भएसँगै कुल २७ लाख लाइसेन्स छपाइ सम्पन्न भएको हो।

    हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा सवारी चालक अनुमतिपत्र नवीकरण गरेका सेवाग्राहीको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब ३ हजारदेखि ५ हजार विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिरहेको मन्त्रालयले जनाएको छ। यस व्यवस्थाले नयाँ लाइसेन्स वितरण प्रक्रिया अझ छिटो, सहज र व्यवस्थित हुने विश्वास गरिएको छ।

    मन्त्रालयका अनुसार अब सुरक्षण मुद्रण केन्द्रमार्फत सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी स्मार्ट लाइसेन्स छपाइसम्बन्धी आवश्यक सम्झौता गर्ने तयारीसमेत भइरहेको छ।

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण लामो समयदेखि रोकिएका सबै २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ। यससँगै अब नयाँ आवेदन दिने सेवाग्राहीले स्मार्ट लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend