काठमाडौं -विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको तथा भ्रष्टाचारसम्बन्धी कसुरमा दोषी ठहर गर्दै पौडेललाई आठ वर्ष कैदको फैसला गरेको हो।
उक्त प्रकरणमा घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि अदालतले आठ वर्षकै कैद सजाय सुनाएको छ।
अदालतले नेपाल सरकारको विशिष्ट तहको सार्वजनिक पदमा रहेर भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वएमडी पौडेललाई थप छ महिना कैद सजायसमेत निर्धारण गरेको छ।
फैसलाअनुसार घुसको रकम प्रत्यक्ष रूपमा बरामद नभएको आधारमा अदालतले दुवै प्रतिवादीबाट बिगो असुल गर्ने आदेश भने दिएको छैन।
तर, घुस लिएको भनिएको ३ करोड ८ लाख रुपैयाँलाई आधार मानी दामासाही हिसाबले विभाजन गर्दै दुवै प्रतिवादीलाई जनही १ करोड ५४ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको छ।
यो फैसला विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ गर्दै गरेको हो। फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अदालतले कसुर ठहर गर्नुका कानुनी आधार र विस्तृत व्याख्या स्पष्ट हुने अपेक्षा गरिएको छ।