बुटवल- कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि कृष्णनगर बजार पूर्ण रूपमा बन्द गरिएको छ। बजारसँगै यातायातका साधनसमेत सञ्चालन हुन सकेका छैनन्।
स्थानीयले सामान्य विवादलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउँदै सांसद र मेयरलाई फसाउन खोजिएको आरोप लगाउँदै बजार बन्द गराएका हुन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनको मागसमेत गरेका छन्।
उक्त घटनामा सांसद शाह र मेयर शाहविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी जाहेरी दर्ता गराउने कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका सञ्चालक रितेश शर्मा भने अहिले फरार रहेका छन्।
यता, शर्माविरुद्ध पनि आपराधिक उपद्रव सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर बिहीबार पक्राउ पुर्जी जारी गरिएको छ। कपिलवस्तु प्रहरीले शर्मा सहित सात जनाविरुद्ध जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र सिंह का अनुसार रितेश शर्मासहितको टोली फरार रहेकाले उनीहरूको खोजी कार्य जारी छ।
प्रहरीका अनुसार, कृष्णनगरस्थित शाह कम्प्लेक्स भित्र रहेको एक व्यावसायिक कार्यालयमा तोडफोड तथा जबरजस्ती बन्द गराएको आरोपमा कम्प्लेक्सका सञ्चालक वैभवप्रताप शाह ले रितेश शर्माविरुद्ध आपराधिक उपद्रवको जाहेरी दिएका थिए।
यसै घटनापछि विवाद समाधान गर्न शर्माको घर पुगेका सांसद अभिषेकप्रताप शाह र मेयर रजतप्रताप शाहविरुद्ध स्वयं शर्माले ज्यान मार्ने उद्योगको आरोप लगाउँदै अर्को जाहेरी दर्ता गराएका थिए।
दुवै पक्षले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रहरीले दुवै जाहेरी दर्ता गर्दै अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो।
यस घटनालाई लिएर स्थानीयस्तरमा राजनीतिक चर्चा पनि चुलिएको छ। स्थानीयका अनुसार विगतमा नेकपा (एमाले) निकट मानिएका रितेश शर्मा पछिल्लो समय सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग निकट देखिएका छन्। सामाजिक सञ्जालमा उनले गृहमन्त्रीसँग खिचाएको तस्वीरसमेत सार्वजनिक भएपछि राजनीतिक टिप्पणीहरू बढेका छन्।
यसैबीच, करिब एक महिनाअघि शर्मासहित उनका सहयोगीहरू फिरोज खान र अनुरागमणि त्रिपाठी चन्द्रौटास्थित एक क्यासिनोमा प्रवेश गर्न खोज्दा विवाद भएको स्रोतहरूको दाबी छ। त्यसपछि आक्रोशित समूहले कृष्णनगरस्थित शाह कम्प्लेक्समा रहेको क्यासिनोको सम्पर्क कार्यालयमा पुगेर कर्मचारीलाई बाहिर निकाल्दै कार्यालय बन्द गराएको र आगजनीको धम्की दिएको आरोप छ।
प्रहरीका अनुसार सोही घटनाको श्रृंखलाबाट विवाद बढ्दै गएर अहिले दुवै पक्षविरुद्ध फौजदारी मुद्दा दर्ता हुनुका साथै पक्राउ पुर्जी जारी भएको हो।
यसअघि पनि रितेश शर्मा सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका थिए। पछि कपिलवस्तु जिल्ला अदालतले उनलाई ८५ हजार रुपैयाँ धरौटी मा रिहा गरेको थियो।
प्रहरीले हाल दुवै पक्षसँग सम्बन्धित घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।