काठमाडौं- प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौंको गोठाटारकी ४१ वर्षीया मनिता शर्माको उपचारमा लापरबाही भएको ठहर गर्दै उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ।
अदालतका अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको संयुक्त इजलासले गरेको फैसलाअनुसार एभरेस्ट अस्पतालले ३० लाख रुपैयाँ र डा. ज्योत्सना शर्मा तिवारीले ९ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको हो।
मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा गम्भीर लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए।
उपचार प्रोटोकल पालना नगरेको अदालतको निष्कर्ष
अदालतले मनिताको उपचारमा स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिकित्सा मापदण्ड पालना नगरिएको निष्कर्ष निकालेको छ।
फैसलाअनुसार, मनितामा गर्भावस्थाको गम्भीर अवस्था ‘सिभियर प्रि–इक्लेम्सिया’ देखिएको थियो। यस्तो अवस्थामा शल्यक्रियाअघि अनिवार्य रूपमा म्याग्नेसियम सल्फेट औषधि दिनुपर्ने भए पनि उक्त औषधि अपरेसनपछि मात्र दिइएको पाइएको अदालतले उल्लेख गरेको छ।
उच्च रक्तचाप (१८०/११०) रहेको अवस्थामा रक्तचाप नियन्त्रणका लागि ल्याबेटालोल दिइए पनि प्रि–इक्लेम्सियाको जटिलता रोक्ने म्याग्नेसियम सल्फेट समयमै प्रयोग नगरिएकाले बिरामीको अवस्था थप जटिल बनेको अदालतको निष्कर्ष छ।
विशेषज्ञ चिकित्सकहरूको राय पनि एउटै
मुद्दाको सुनुवाइका क्रममा अदालतले विभिन्न विशेषज्ञ चिकित्सकको राय लिएको थियो।
त्रिवि शिक्षण अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सुनिता जोशी रावल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डा. पूर्ण गुरुङ तथा विशेषज्ञ डा. रुपेशकुमार गानीले समेत सिभियर प्रि–इक्लेम्सियाका बिरामीलाई शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनुपर्ने राय दिएका थिए।
अदालतले आफ्नो फैसलामा विश्व स्वास्थ्य संगठन (WHO) को उपचार निर्देशिकालाई समेत आधार बनाउँदै यस्तो अवस्थामा उक्त औषधिको प्रयोग अन्तर्राष्ट्रिय मापदण्ड भएको उल्लेख गरेको छ।
अस्पताल पनि संस्थागत रूपमा जिम्मेवार
अदालतले दोष चिकित्सकमा मात्रै सीमित नरहेको स्पष्ट पारेको छ।
मनिता गर्भावस्थादेखि नै एभरेस्ट अस्पतालमा नियमित उपचाररत रहेकाले सम्भावित जोखिमको पूर्वानुमान गर्दै आवश्यक सतर्कता अपनाउने, विशेषज्ञबीच समन्वय गर्ने, समयमै सूचना प्रवाह गर्ने तथा गुणस्तरीय उपचार सुनिश्चित गर्ने संस्थागत दायित्व अस्पतालले पूरा गर्न नसकेको अदालतको ठहर छ।
त्यसैले चिकित्सकको व्यक्तिगत जिम्मेवारीसँगै अस्पतालको संस्थागत लापरबाही पनि पुष्टि भएको अदालतले जनाएको छ।
के थियो घटना?
२५ मंसिर २०८१ मा गर्भावस्थाको ३४ औँ हप्तामा रहेकी मनिता शर्मालाई पेटको माथिल्लो भागमा असह्य पीडा भएपछि एभरेस्ट अस्पताल लगिएको थियो।
जाँचका क्रममा उनको रक्तचाप अत्यधिक उच्च रहेको थियो। त्यसपछि सिजेरियन शल्यक्रिया गरी छोरीको जन्म गराइए पनि मनिताको स्वास्थ्य अवस्था सुधार हुन सकेन। केही समयमै उनलाई सिजर आएपछि आईसीयूमा सारिएको थियो।
अवस्था झन् जटिल बन्दै गएपछि २६ मंसिरमा उनलाई ह्याम्स अस्पताल रेफर गरिएको थियो। त्यहाँ उपचारका क्रममा उनीमा हेल्प सिन्ड्रोम र प्रि–इक्लेम्सिया को गम्भीर जटिलता पुष्टि भएको थियो।
सात दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिए पनि अन्ततः उनको मृत्यु भएको थियो।
अदालतको आदेश
उपभोक्ता अदालतले उपचारमा लापरबाही पुष्टि गर्दै:
- एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ
- डा. ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ
गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति पीडित परिवारलाई उपलब्ध गराउन आदेश दिएको छ। यद्यपि क्षतिपूर्तिसम्बन्धी बाँकी माग भने अदालतले अस्वीकार गरेको छ।