२०८३, कार्तिक २६ गते

समय लोड हुँदैछ...

चिकित्सकमाथि कुटपिटको विरोधमा देशभर आन्दोलन

माइतीघरमा प्रदर्शन, नारायणीका ७० चिकित्सकको सामूहिक राजीनामा

माइतीघरमा प्रदर्शन, नारायणीका ७० चिकित्सकको सामूहिक राजीनामा

बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ – वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, दुर्व्यवहार तथा अस्पतालभित्र तोडफोडको घटनाको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा बुधबार आकस्मिक सेवाबाहेकका नियमित स्वास्थ्य सेवा प्रभावित बनाउँदै चिकित्सकहरूले विरोध प्रदर्शन सुरु गरेका हुन्।

    काठमाडौँको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकहरू सहभागी भइरहेका छन्। संघले बिहान १० बजे प्रदर्शन सुरु गर्ने कार्यक्रम तय गरे पनि चिकित्सकहरू क्रमशः जम्मा भइरहेकाले प्रदर्शन केही ढिलो गरी सुरु भएको हो।

    नेपाल चिकित्सक संघले काठमाडौँमा विरोध प्रदर्शन गर्ने तथा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ। चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनाले अस्पतालभित्रको कार्य वातावरण असुरक्षित बन्दै गएको भन्दै सरकारसँग तत्काल प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग गरेका छन्।

    प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको राजीनामा माग

    गत शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट तथा दुर्व्यवहार भएको थियो। उक्त घटनाका क्रममा अस्पतालभित्र तोडफोडसमेत भएको चिकित्सकहरूको आरोप छ।

    यस घटनामा सुरक्षा निकायले समयमै हस्तक्षेप गर्न नसकेको भन्दै आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी कार्यालयका प्रमुखको तत्काल राजीनामा माग गरेका छन्। दोषीमाथि कडा कानुनी कारबाही, अस्पताललाई सुरक्षित कार्यस्थल घोषणा तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न प्रभावकारी कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।

    नारायणी अस्पतालका ७० चिकित्सकको सामूहिक राजीनामा

    घटनापछि नारायणी अस्पतालमा कार्यरत ७० जना चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा बुझाएका छन्। चिकित्सकहरूले असुरक्षित वातावरणमा काम गर्न नसकिने निष्कर्ष निकाल्दै आफूहरूको सुरक्षा सुनिश्चित नभएसम्म नियमित सेवा सञ्चालन गर्न कठिन हुने बताएका छन्।

    सामूहिक राजीनामापछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित हुने देखिएको छ। यद्यपि आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा राख्ने प्रयास भइरहेको अस्पताल स्रोतले जनाएको छ।

    सेवा प्रभावित

    नेपाल चिकित्सक संघले आन्दोलनका क्रममा आकस्मिक, सघन उपचार (आईसीयू), प्रसूति, डायलाइसिस लगायत अत्यावश्यक सेवाबाहेकका ओपीडी तथा नियमित स्वास्थ्य सेवा स्थगित गरेको जनाएको छ। यसका कारण देशभरका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरू प्रभावित भएका छन्।

    सरकारमाथि दबाब

    चिकित्सकहरूले स्वास्थ्य संस्थाभित्र हुने हिंसात्मक गतिविधि रोक्न सरकार गम्भीर नभएको आरोप लगाउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र यस्ता घटना दोहोरिन नदिने स्पष्ट प्रतिबद्धता सार्वजनिक गर्न माग गरेका छन्।

    यदि सरकारबाट माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाइने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ। आन्दोलनका कारण आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावित हुन सक्ने सम्भावना देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend