पोखरा- पोखरामा मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा सातजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकमा पृथ्वीराजमार्ग भएर सञ्चालन हुने सवारीसाधनका चालकलाई जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौँडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले गरेको जाँचका क्रममा एकजना चालकले मादक पदार्थ र छजना चालकले लागुऔषध सेवन गरी सवारी चलाएको पाइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चालकहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारीसाधन चलाउँदा यात्रु, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित जाँचलाई तीव्रता दिने जनाएको छ।
सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले प्रहरीले चालकहरूको जाँचलाई निरन्तरता दिने सूचना अधिकारी पासवानले बताए।