२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

किर्ते गरेर एमाले नेता शाक्य र परिवारले कस्तुरी सहकारीको करोडौं कुम्ल्याए

किर्ते गरेर एमाले नेता शाक्य र परिवारले कस्तुरी सहकारीको करोडौं कुम्ल्याए

शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • पोखरा - म्याग्दीको बेनीस्थित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष राजेश शाक्यले र उनको परिवारले नक्कली कागजातको सहारामा करिब ४८ करोड रुपैयाँ हिनामिना गरेका अनुसन्धानवाट खुलेको छ । 
    नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य र उद्येग बाणिज्य संघ म्याग्दीका वरिष्ठ उपाध्यक्ष समेत रहेका शाक्यले धितो समेत नराखिकन सहकारीको ९९ प्रतिशत रकम ऋण लिएका भेटिएको छ ।  नक्कली कागजातका आधारमा संस्थाका अध्यक्ष राजेश शाक्यका परिवारले अपचलन गरेको पाइएको छ । 
    धितो नराखिकन शाक्यको श्रीमती, दाजु, दुई दिदी र भतिजका नाममा ४७ करोड ९९ लाख २९ हजार १ सय ३८ रुपैयाँ ऋण लगेपछि करिव १४ सय बचतकर्ताको रकम डुवेको छ । 
    अध्यक्ष शाक्यले ३३ करोड ६८ लाख, शाक्यकी श्रीमती रेश्मा श्रेष्ठ शाक्यका नाममा ९ लाख ५० हजार, दिदीहरू सुलोचनाकुमारी शाक्यको नाममा ४ करोड ८० लाख र आशामाया शाक्यको नाममा १ करोड ८४ लाख, दाजु डम्बरबहादुर शाक्यको नाममा ४ करोड ६० लाख तथा भतिजा सिद्धार्थ शाक्यले ३ करोड ऋण लिएका छन् । सहकारीले ५२ करोड ३२ लाख ८२ हजार ऋण लगानी गरेकामा अध्यक्षको परिवारले मात्र करिब ४८ करोड लगेर तिरेका छैनन । 
    एक वर्षअघि २७ जना बचतकर्ताले रकम फिर्ता माग गर्दा नसकेपछि अध्यक्ष शाक्यले घरपरिवारका सदस्यको नाममा कर्जा लिएर अपचलन गरेको भेटिएको हो । शयौं बचतकर्ताको करोडौं अपचलन गर्ने शाक्य राजनीतिक संरक्षणका कारण कार्वाहीबाट उन्मुक्ति पाउँदै आएका थिए । जवकि कस्तुरीका व्यवस्थापक लोकबहादुर पुन बेनीकै कुमारी सहकारीको १ अर्ब ४९ करोड हिनामिनामा संलग्न भएको प्रमाणका आधारमा थुनामा छन् ।
     एक वर्षअघि नै बेनी नगरपालिकाका मेयर सुरत केसीको संयोजकत्वमा छानबिन हुँदा कस्तुरीको रकम हिनामिना तथ्य सार्वजनिक भए पनि असुली, अनुसन्धान र कारबाही प्रक्रिया सुरु भएको छैन । मेयरको संयोजकत्वमा भएको छानबिन समितिमा त्यतिखेर बेनीका उपमेयर ज्योति लामिछाने, तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्र पन्त, बेनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल सदस्य थिए ।
    छानबिन समितिको सदस्य रहेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी पन्तले शाक्यको घरजग्गा आफ्नै पत्रका आधारमा रोक्का गरिएको जानकारी दिए । पन्त हाल बागलुङ कारागार कार्यालयमा कार्यरत छन् ।
    सहकारीको रकम अपचलनबारे छानबिन गरेका मेयर सुरत केसीले गत चैतमा आफूहरूले छानबिन गर्दा त्यहाँ आर्थिक अनियमितता गरिएको यकिन भएको स्वीकार गरे । ‘रकम हिनामिना गरेको देखिन्छ,’ केसीले भने, ,‘हिनामिनाका आधारमा अध्यक्षको सम्पत्ति रोक्का गरिएको छ । ऋण लगेअनुसारको धितो राखेको पनि देखिन्न ।’ उनका अनुसार फागुन १६ मा उक्त सहकारीको साधारणसभा छ । ‘साधारणसभाले नै रकम असुलीबारेमा केही निर्णय गर्ला,’ उनले भने ।
    मेयर केसीका अनुसार अनियमितताबारे कसैले पनि ‘कारबाही गरिपाऊँ’ भनेर उजुरी नदिएकाले औपचारिक प्रक्रिया सुरु नभएको हो । 
    कस्तुरी सहकारीमा ११ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । कस्तुरी सहकारीमा भएको आर्थिक अनियमितताबारे प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफूलाई जानकारी नभएको बताए । ‘म आएको ६ महिना भयो, कसैले उजुरी गरेको छैन,’ उनले भने, ‘अब कुन ठाउँमा अनियमितता छ भनेर खोज्दै हिँड्ने कुरा भएन, अब बुझौंला ।’

    कुमारीको बचत हिनामिनामा २५ जनालाई मुद्दा
    म्याग्दीको बेनीमै रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा डेढ अर्ब रकम हिनामिना गरेका एमाले नेता एवं जिसस प्रमुख राजकुमार थापासहित २५ जनाबाट १ अर्ब १३ करोड बिगो मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । थापासहित रकम हिनामिनामा संलग्न ६ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमै छन् ।
    जिल्ला सरकारी वकिल कार्यालयले कुमारी वहुउद्देश्यीय सहकारी संस्थामा बचत अपचलन अभियोगमा २५ जना विरुद्ध १ अर्व १३ करोड बिगो मागदावी गर्दै जिल्ला अदालतम अभियोग पत्र (मुद्धा) दायर गरेको छ ।
    सहकारी रजिष्टारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरीले अनुसन्धानगरी उनहरु विरुद्ध विहिवार सरकारी वकिल कार्यालय मार्फत १ अर्व १३ करोड ३३ लाख ९९ हजार ३० रुपैयाँ बिगो मागदावीहित अभियोग पत्र अदालत पुर्‍याएको हो ।
    जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम पौडेलले मुलुकी फौजदारी कार्यविधी संहिता, ०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोग पत्रका विषयमा विहिवार समय अभावको कारण आगामी आईतवारबाट थुनछेक वहस सुरु हुने बताए ।
    सरकारी वकिल कार्यालयले विहिवार ढिलोगरी बर्तमान तथा पूर्व संञ्चालकहरु, ब्यवस्थापक, ऋण समिति समेत २५ जनालाई विपक्षी बनाई अदालतमा दर्ता गरेको अभियोग पत्र दर्ता गरेको हो । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्धामा अभियोग लागेका पूर्व संञ्चालक मनप्रसाद थजाली, राजकुमार थापा, थमबहादुर गर्वुजा, देवी थापा, ब्यवस्थापक रुद्र गुरुङ, ऋण समिति सदस्य लोकेस पुन यस अघि पक्राउ परेका छन ।
    सहकारीको रकम अपचलन अभियोगमा मुद्धा दायर भएका माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य तथा मंगला गाउँपालिका, ३ बरंजाका वडाध्यक्ष यामबहादुर रोका समेत अन्य १९ जना फरार रहेका छन । अदालतमा दर्ता भएको अभियोग पत्रमा २५ जनाको नाम उल्लेख भएपनि प्रहरीले भने अभियोगी भाग्ने भन्दै नाम गोप्य राखेको छ ।
    माओवादी नेता तथा वडाध्यक्ष रोका महिला सदस्य भेषकुमारी पुनलाई कार्यवाहक दिएर पछिल्लो २५ दिनदेखी सम्पर्क विहीन रहेको मंगला गाउँपालिकाले पुष्टी गरेको छ । सहकारीको स्थापनाकालदेखी विभिन्न पदमा रहँदै आएका यामबहादुर रोका अहिलेका अध्यक्ष र पूर्व संञ्चालक हुन ।
    सहकारी रजिस्ट्रार कार्यालयमा परेको निवेदनका आधारमा १५ महिनाअघि कुमारी सहकारीमा छानबिन थालिएको थियो । सहकारी रजिस्ट्रार कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमको संयोजकत्वमा गरेको छानबिनमा थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड हिनामिना गरेको ठहर गरिएको छ ।
    थापाले सहकारीको रकम आफूखुसी लगेर आफ्नो निजी बोर्डिङ स्कुलमा लगानी गरेका थिए । उनैले त्यहाँको रकम लगेर पर्वतको जलजला गाउँपालिका र कास्कीमा समेत घरजग्गा कारोबार गरेका थिए । सहकारीको रकम लैजाँदा ऋणको तमसुक गर्ने र कर्जा लिएबापत घरजग्गा रोक्कासमेत गरेका थिएनन् । सहकारीको रकम सोझै लगेर घरजग्गा कारोबारमा समेत लगानी गरेर बिक्री गरी मुनाफा कमाएका आधारमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउनुपर्नेमा भने सरकारी वकिलले उन्मुक्ति दिएका छन् ।
    जिल्ला प्रहरीका प्रवक्ता सागर पौडेलले गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नु भनेकाले सरकारी वकिलसँग लिखित राय मागेको बताए । ‘सहकारी कार्यालयको पत्रका आधारमा राय मागेका थियौं, तर सरकारी वकिल गोविन्द उपाध्यायले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन मान्नुभएन,’ अनुसन्धान अधिकृत पौडेल भन्छन्, ‘त्यसपछि सहकारी ठगीअनुसार मुद्दा बुझाइएको हो ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend