पोखरा-पोल्यान्डमा हृदयघात भएर मृत्यु भएका कास्कीको मादी ११ उपल्लो साप्लेका ३३ बर्षिय सुमन गुरुङको शव बुधबार स्वदेश पठाइएको छ।
गत जनवरी १६ मा ह्दयघातबाट मृत्यु भएका ‘सुमन गुरुङको शव कतार एयरलाइन्सको उडानबाट नेपाल पठाइएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । दूताबासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले शव २८ तारिख वारसाको चोपिन विमानस्थलबाट कतारको दोहा हुँदै २९ तारिख अपराह्न ४ः२५ बजे काठमाडौँ पुग्ने गरी पठाईएको वताए । साथै उनले गुरुङको शोकसन्तप्त परिवारलाई रोजगारदाता कम्पनीको तर्फबाट केही आर्थिक सहयोग उपलब्ध गराउन दूतावासको तर्फबाट प्रयास भइरहेको जानकारी दिए । नेपालबाट रोजगारीको सिलसिलामा २०८१ भदौ १६ गते रोमानिया आएका सुमन २०२५ मे ११ देखि पोल्यान्डमा थिए। पोल्यान्डको प्लातेरुफको ओस्त्रोमेचिनमा टीएमएस ग्रुप कम्पनीमा उनी च्याउ उत्पादन गर्ने कम्पनीमा काम गर्थे। उनको श्रीमती र ७ वर्षका छोरा छन्।