२०८३, कार्तिक २० गते

समय लोड हुँदैछ...

संकल्प र संर्घषले मिल्छ सफलता

स्कुल पढ्दा क्यान्सरले थलिएका विधानले १० बर्षमा साकार पारे डाक्टर बन्ने सपना

स्कुल पढ्दा क्यान्सरले थलिएका विधानले १० बर्षमा साकार पारे डाक्टर बन्ने सपना

बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • काठमाडौं- १० वर्षअघि रक्त क्यान्सरको उपचारका क्रममा अस्पतालको शय्यामा किमोथेरापी लिइरहेका १५ वर्षीय विधान भट्टले मनमनै गरेको सङ्कल्प थियो यो। त्यतिबेला उनी आफैँ जीवन र मृत्युको कठिन लडाइँ लडिरहेका थिए। तर उनको मनमा निराशा थिएन, बरु भविष्यमा डाक्टर बनेर अरू बिरामीको उपचार गर्ने सपना थियो।

    आज त्यही सपना साकार भएको छ। कुनै समय अस्पतालको शय्यामा बसेर चिकित्सकलाई उपचार गरिरहेको देख्ने विधान अहिले आफैँ चिकित्सक बनेका छन्। क्यान्सरलाई पराजित गर्दै उनले चिकित्सा शिक्षा पूरा गरेका छन् र अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्।

    कैलालीको टीकापुर घर भएका विधानलाई २०७३ सालमा रक्त क्यान्सर (लिम्फोमा) भएको पुष्टि भएको थियो। त्यतिबेला उनी कक्षा १० मा अध्ययनरत थिए। पढाइमा अब्बल रहेका उनी परीक्षाको तयारीमा जुटिरहेका थिए। तर अचानक वान्ता हुने, शरीर कमजोर हुने र अत्यधिक थकाइ लाग्ने समस्या देखिन थाल्यो।

    परिवारले उनलाई उपचारका लागि नेपालगन्ज पुर्‍यायो। त्यहाँबाट थप उपचारका लागि काठमाडौं जान सल्लाह दिइयो। ललितपुरस्थित अल्का अस्पतालमा गरिएको परीक्षणपछि उनलाई लिम्फोमा भएको पत्ता लाग्यो।

    त्यसपछि विधानको उपचार काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा सुरु भयो। किमोथेरापी चलिरहेको थियो। चिकित्सकहरूले बोनम्यारो प्रत्यारोपणको तयारीसमेत गरिरहेका थिए।

    तर रोगसँगै विधानको पढाइप्रतिको लगाव पनि उत्तिकै बलियो थियो।

    अस्पतालको शय्यामा बसेर उनी एसएलसी परीक्षाको तयारी गर्थे। किमोथेरापी गराइरहेकै अवस्थामा परीक्षा दिए र राम्रो नतिजासहित उत्तीर्ण भए। त्यसपछि पनि उनको पढ्ने चाहना रोकिएन। ब्रिज कोर्स पढ्नसमेत उनी अस्पतालबाट समय निकालेर जान्थे।

    ‘कक्षा ११ मा विज्ञान सङ्काय लिएर पढ्नु थियो। मलाई त डाक्टर बन्नु थियो। किमो लिएर पनि ब्रिज कोर्स पढ्न जान्थेँ,’ विधानले विगत सम्झिए।

    रोगसँग लड्दै पढाइमा उत्कृष्ट

    कक्षा ११ मा विज्ञान सङ्कायमा भर्ना भएपछि विधानको बोनम्यारो प्रत्यारोपण गर्ने तयारी भयो। चिकित्सकहरूले उनको आफ्नै शरीरबाट स्वस्थ स्टेम सेल निकालेर सुरक्षित राखे। त्यसपछि उच्च मात्राको किमोथेरापी दिएर क्यान्सरका कोष नष्ट गर्ने प्रक्रिया अघि बढाइयो। सुरक्षित राखिएका स्वस्थ स्टेम सेल पुनः उनको शरीरमा प्रत्यारोपण गरियो।

    प्रत्यारोपणपछि संक्रमणको जोखिम र स्वास्थ्य अवस्थाका कारण उनी करिब नौ महिनासम्म नियमित रूपमा कलेज जान सकेनन्। तर पढाइप्रतिको लगाव घटेन। अस्पताल र प्रत्यारोपण केन्द्रमै किताब लगेर अध्ययन गरिरहे। त्यसको परिणाम पनि उत्साहजनक आयो। कक्षा ११ मा उनी प्रथम भए।

    ‘बिरामी भएँ, अब केही गर्न सक्दिनँ होला भन्ने मलाई कहिल्यै लागेन। रोग लागेको छ, निको हुन्छु र पढ्छु, डाक्टर बन्छु भन्ने मात्रै लाग्थ्यो,’ विधान भन्छन्, ‘अस्पतालमा बसिरहँदा कहिले कलेज जान पाउँछु होला भन्ने मात्र लाग्थ्यो। अहिले सम्झिँदा हाँसो उठ्छ।’

    उनका लागि बिरामी हुनु जीवनको अन्त्य थिएन। बरु आफ्नो सपना पूरा गर्न थप दृढ बन्नुपर्ने अवस्था थियो।

    किमोथेरापीका कारण आँखीभौँ र परेलाका रौँ झरे। संक्रमणबाट जोगिन दुईवटा मास्क लगाएर कलेज जान्थे। शारीरिक कठिनाइ र उपचारका चुनौतीले पनि उनको आत्मविश्वास कमजोर बनाउन सकेन।

    ‘बाँचिन्छ भन्ने नै थियो। मरिन्छ भन्ने थिएन। रोग लागेको छ, म बाँच्छु भन्ने लागेको थियो। कलेज जान नपाउँदा प्रत्यारोपण सेन्टरमा फिजिक्स र केमेस्ट्रीका किताब लगेर पढ्थेँ,’ उनी भन्छन्।

    एक वर्षसम्म चलेको उपचारपछि विधान क्रमशः स्वस्थ हुँदै गए। क्यान्सरसँगको लडाइँ जितेर उनले १२ कक्षासमेत उत्तीर्ण गरे। त्यसपछि नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरे। अहिले २५ वर्षको उमेरमा उनी चिकित्सक बनेर बिरामीको उपचारमा खटिएका छन्।

    आफूलाई उपचार गर्ने चिकित्सकबाटै पाए प्रेरणा

    विधानको परिवारमा दाइ र दिदीसहित अन्य सदस्य पनि चिकित्सक छन्। परिवारका सदस्यले चिकित्सा पेसामा देखाएको समर्पणले उनलाई सानैदेखि डाक्टर बन्न प्रेरित गरेको थियो। तर अस्पतालको शय्यामा बिताएका दिनले उनको त्यो चाहनालाई अझ बलियो बनायो।

    उपचारका क्रममा चिकित्सकहरू आफ्नो स्वास्थ्य सुधार्न खटिएको देख्दा उनी पनि भविष्यमा त्यस्तै चिकित्सक बन्ने कल्पना गर्थे।

    ‘मेरो परिवारमा धेरै जना डाक्टर हुनुहुन्छ। दाइ र दिदी पनि डाक्टर बन्नुभयो। उहाँहरूले पढेको देखेर मलाई पनि डाक्टर बन्छु भन्ने थियो। १५ वर्षकै उमेरमा बिरामी परेँ। तर सानै उमेर भएर होला, मलाई त्यसले कुनै असर गरेन,’ उनी भन्छन्, ‘अस्पतालको शय्यामा रहँदा डाक्टरहरू आएर मेरो उपचार गर्दा म पनि यसरी नै बिरामीको उपचार गर्छु भन्ने लाग्थ्यो।’

    विधानले अहिले एमबीबीएस पूरा गरिसकेका छन्। अब उनको लक्ष्य मेडिसिन विषयमा एमडी अध्ययन गर्ने छ।

    विधानको उपचारसँगै सिभिल अस्पतालमा सुरु भएको थियो बोनम्यारो प्रत्यारोपण

    विधानको व्यक्तिगत जीवनको यो सफलता नेपालको स्वास्थ्य सेवाको इतिहाससँग पनि जोडिएको छ। उनीकै प्रत्यारोपणबाट करिब १० वर्षअघि सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु भएको थियो।

    विधानलाई लिम्फोमा भएकाले आफ्नै शरीरबाट निकालिएको स्वस्थ स्टेम सेल पुनः प्रत्यारोपण गरिएको थियो। यसलाई चिकित्सकीय भाषामा ‘अटोलोगस स्टेम सेल ट्रान्सप्लान्ट’ भनिन्छ।

    यस विधिमा किमोथेरापी गर्नुअघि बिरामीको शरीरबाट स्वस्थ स्टेम सेल निकालेर सुरक्षित राखिन्छ। त्यसपछि उच्च मात्रामा किमोथेरापी दिएर क्यान्सरका कोष नष्ट गरिन्छ। अन्त्यमा सुरक्षित राखिएका स्वस्थ स्टेम सेल पुनः बिरामीको शरीरमा प्रवेश गराइन्छ।

    उपचारमा संलग्न हेमाटोलोजिस्ट डा. विशेष पौडेलका अनुसार बोनम्यारो प्रत्यारोपण मुख्यतः दुई प्रकारले गरिन्छ। एउटा बिरामीकै शरीरबाट निकालिएको स्टेम सेल प्रयोग गरेर र अर्को उपयुक्त दाताबाट प्राप्त स्टेम सेल प्रयोग गरेर।

    ‘अटोलोगसमा बिरामीको आफ्नै बोनम्यारो झिकेर दिने गरिन्छ। एलोजेनिकमा डोनरसँग मिलान भएपछि दाताबाट प्राप्त स्टेम सेल प्रत्यारोपण गरिन्छ,’ डा. पौडेलले बताए।

    उनका अनुसार औषधि र किमोथेरापीबाट मात्र निको पार्न कठिन हुने कतिपय रक्तजन्य रोगमा बोनम्यारो प्रत्यारोपण प्रभावकारी उपचार विधि हुन सक्छ।

    १० वर्षमा २२३ जनाको प्रत्यारोपण

    नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सन् २०१२ देखि सुरु भएको हो। डा. विशेष पौडेलले नोबेल अस्पतालबाट यसको सुरुआत गरेका थिए। त्यसपछि सन् २०१६ मा सिभिल अस्पतालमा पनि यो सेवा सुरु भयो।

    डा. पौडेल अमेरिकाको युनिभर्सिटी अफ इलिनोइ सिकागो (यूआईसी) मा तालिम लिएर फर्किएपछि २०७३ साउन ३० गते सिभिल अस्पतालमा पहिलोपटक बोनम्यारो प्रत्यारोपण सेवा सुरु गरिएको थियो।

    हाल सिभिल अस्पताल र जावलाखेलस्थित नेपाल वल्र्ड अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा उपलब्ध छ। नेपालमा हालसम्म २२३ जनाको बोनम्यारो प्रत्यारोपण भइसकेको डा. पौडेल बताउँछन्।

    उनका अनुसार प्रत्यारोपण गरिएकामध्ये करिब ३० प्रतिशत बालबालिका छन्। तीन वर्षदेखि ६७ वर्ष उमेर समूहका बिरामीको प्रत्यारोपण गरिएको छ। त्यस्तै, करिब ७० प्रतिशत प्रत्यारोपणमा परिवारका सदस्यबाट प्राप्त स्टेम सेल प्रयोग गरिएको छ।

    ‘बोनम्यारो प्रत्यारोपण दुई तरिकाबाट गर्छौँ। एउटा आफ्नै शरीरबाट निकालेर र अर्को परिवारको सदस्यसँग मिलान भएपछि दाताबाट निकालेर। सिभिल अस्पतालमा ७० प्रतिशत डोनरको सहयोगबाट प्रत्यारोपण गरेका छौँ,’ डा. पौडेलले बताए।

    कस्ता रोगमा आवश्यक पर्छ बोनम्यारो प्रत्यारोपण?

    बोनम्यारो हड्डीभित्र पाइने नरम तन्तु हो। यसले शरीरमा रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। रातो रक्तकोषले शरीरमा अक्सिजन पुर्‍याउन, सेतो रक्तकोषले संक्रमणविरुद्ध लड्न र प्लेटलेटले रक्तस्राव नियन्त्रण गर्न सहयोग गर्छ।

    बोनम्यारो वा स्टेम सेल उत्पादन गर्ने प्रणालीमा गम्भीर समस्या आएमा बिरामीलाई प्रत्यारोपण आवश्यक पर्न सक्छ।

    ल्युकेमिया, लिम्फोमा, मल्टिपल माइलोमा, अप्लास्टिक एनिमिया, थालेसिमिया र सिकल सेल एनिमियाजस्ता रोगमा बिरामीको अवस्था र रोगको प्रकारअनुसार बोनम्यारो प्रत्यारोपण गरिन्छ।

    डा. पौडेलका अनुसार रक्त क्यान्सरबाहेक अप्लास्टिक एनिमिया, थालेसिमिया तथा बालबालिकामा देखिने केही गम्भीर रक्तसम्बन्धी रोगको उपचारमा पनि प्रत्यारोपण उपयोगी हुन सक्छ।

    सरकारी अस्पतालमा १० देखि १५ लाख रुपैयाँसम्म खर्च

    बोनम्यारो प्रत्यारोपण विश्वमै जटिल र खर्चिलो उपचार प्रक्रियामध्ये एक मानिन्छ। नेपालमा सिभिल अस्पतालले करिब १० देखि १५ लाख रुपैयाँसम्ममा यो सेवा उपलब्ध गराउँदै आएको छ।

    सिभिल अस्पताल नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा प्रदान गर्ने सरकारी अस्पताल हो। सरकारी अस्पतालबाट तुलनात्मक रूपमा कम खर्चमा यस्तो जटिल उपचार उपलब्ध हुनु बिरामी र उनीहरूका परिवारका लागि महत्त्वपूर्ण उपलब्धि हो।


    कुनै समय अस्पतालको शय्यामा बसेर अरू चिकित्सकले बिरामीको उपचार गरेको हेर्ने १५ वर्षीय विधान आज आफैँ बिरामीको सेवामा छन्। क्यान्सरले उनको शरीर कमजोर बनायो, पढाइको गति रोक्न खोज्यो र नौ महिनासम्म कलेजको ढोकासम्म पुग्न दिएन। तर त्यसले उनको सपना रोक्न सकेन।

    १० वर्षअघि अस्पतालको शय्यामा उनले गरेको एउटा सानो सङ्कल्प आज वास्तविकतामा बदलिएको छ।

    विधानको कथा केवल क्यान्सरलाई जितेर डाक्टर बनेको कथा होइन, यो कठिन परिस्थितिमा पनि सपना नत्याग्ने आत्मविश्वास, परिवारको साथ र चिकित्सकीय सेवाप्रतिको समर्पणको प्रेरणादायी उदाहरण हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend