जनकपुरधाम- मिथिलाञ्चलसहित देशभर सूर्य उपासनाको महापर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधि गरिरहेका छन्।
छठको पहिलो दिन शरीर र मन शुद्ध गर्ने परम्पराअनुसार नदी, पोखरी तथा जलाशयमा स्नान गरी अरबा–अरबाइन भोजन गर्ने चलन छ। पर्व अवधिभर मरुवा, मसुरोको दाल, प्याज र लसुनलगायतका खानेकुरा वर्जित गरिन्छ।
छठ पर्वलाई लक्षित गर्दै जनकपुरधामसहित तराई मधेसका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयको सरसफाइ, सजावट र व्यवस्थापन तीव्र पारिएको छ।
चार दिनसम्म मनाइने पर्वको दोस्रो दिन शनिबार व्रतालुहरूले निराहार उपवास बसेर साँझ खीरसहितको प्रसाद ग्रहण गर्दै ‘खरना’ विधि गर्नेछन्।
तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ। बिहानको अर्घ्यपछि प्रसाद ग्रहण गरी व्रतालुहरूले उपवास तोड्ने परम्परालाई ‘पारण’ भनिन्छ।
प्रकृति, सूर्य र जलप्रति श्रद्धा व्यक्त गरिने छठ पर्वलाई आस्था, शुद्धता, अनुशासन र पारिवारिक सुख–समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ।