२०८३, कार्तिक २९ गते

समय लोड हुँदैछ...

बागलुङमा सडकका कुकुरलाई ‘फाइभ स्टार’ सुविधा, बिहान दूधभात, बेलुका चिकनभात !

बागलुङमा सडकका कुकुरलाई ‘फाइभ स्टार’ सुविधा, बिहान दूधभात, बेलुका चिकनभात !

शुक्रवार, कार्तिक २८ २०८३
शुक्रवार, कार्तिक २८ २०८३
  • बागलुङ- सडकमा बेवारिसे अवस्थामा छाडिएका कुकुरको व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ। सडकका कुकुरलाई उद्धार गरेर सुरक्षित आवास, नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको यो कार्यक्रम नेपालमै नमुना अभ्यासका रूपमा अघि बढेको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाले पाँच महिनाअघिदेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन सुरु गरेको हो। सडकमा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा मानिसको आवतजावत, सवारी दुर्घटना तथा कुकुरको टोकाइबाट हुने जोखिम बढेपछि दीर्घकालीन समाधानका रूपमा होस्टेल सञ्चालन गरिएको हो।

    नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरिएको छ। हाल ३० वटा कुकुरलाई उद्धार गरी होस्टेलमा राखेर हेरचाह भइरहेको छ।

    बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको होस्टेलमा तारबारसहितको संरचना बनाउन एक करोड रुपैयाँ खर्च भएको छ। नवप्रवर्तन कार्यक्रमअन्तर्गत मुख्यमन्त्री कार्यालयसँगको साझेदारीमा निर्माण गरिएको होस्टेलका लागि नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपैयाँ लगानी गरेका छन्।

    होस्टेलमा कुकुरका लागि व्यवस्थित आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ। उनीहरूको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु विकास शाखाले नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गरेको छ।

    बिहान दूधभात, बेलुका चिकनभात !

    होस्टेलमा रहेका कुकुरको खानपान पनि विशेष बनाइएको छ। बिहान दूधभात र बेलुका चिकनभात खुवाउने गरिएको छ। आवश्यकताअनुसार पोषणयुक्त खाना र नियमित स्वास्थ्य उपचारको व्यवस्था भएपछि सडकमा अलपत्र परेका कुकुरले सुरक्षित आश्रय पाएका छन्।

    कुकुरको टोकाइबाट हुने जोखिम न्यूनीकरण गर्न नगरपालिकाले बागलुङ बजार क्षेत्रका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाइसकेको छ।

    नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो। अहिले नगर प्रहरी र पशु विकास शाखाको सहकार्यमा सडकका कुकुरको उद्धार, खोप तथा होस्टेलमा स्थानान्तरण गर्ने काम भइरहेको छ।

    सडकका कुकुरको व्यवस्थापन र रेबिजलगायत रोग नियन्त्रणसँगै मानिस र जनावर दुवैको सुरक्षालाई प्राथमिकता दिइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

    बागलुङ नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययन अवलोकनका लागि आउन थालेका छन्।

    सडकमा बेवारिसे अवस्थामा भौँतारिने कुकुरलाई सुरक्षित आश्रय दिने यो प्रयासले एउटा महत्वपूर्ण सन्देश दिएको छ— सहर व्यवस्थापन भनेको सडक र भवन व्यवस्थित गर्नु मात्रै होइन, मानव र पशुपक्षीबीचको सहअस्तित्व सुनिश्चित गर्नु पनि हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend