२०८३, कार्तिक ७ गते

समय लोड हुँदैछ...

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • मियामी- संयुक्त राज्य अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

    अधिकारीहरूका अनुसार अमेजनको प्राइम एयर उडान नम्बर ७५९८ अन्तर्गत सञ्चालन भएको बोइङ ७६७–३०० कार्गो विमान आइतबार स्थानीय समयअनुसार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिरिएको थियो। विमान पुएर्तो रिकोको सान जुआनबाट मियामी आएको थियो।

    धावनमार्गबाट बाहिरिएपछि विमानले सडक तथा आसपास रहेका केही सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा आगलागी भएको थियो। उद्धार टोलीले घटनास्थलबाट बाक्लो धुवाँ र आगो निस्किरहेको अवस्थामा उद्धार तथा अग्निनियन्त्रणको काम अघि बढाएको थियो।

    फ्लाइट–ट्र्याकिङ तथ्यांकअनुसार विमान रनवेबाट बाहिरिँदा यसको गति करिब ११२ नट अर्थात् २०७ किलोमिटर प्रतिघण्टा रहेको थियो। विमान अमेजनको कार्गो नेटवर्कका लागि सञ्चालनमा रहेको भए पनि यसको सञ्चालन २१ एयरले गरेको थियो।

    दुर्घटनामा घाइते पाँच जनामध्ये तीन जनालाई गम्भीर अवस्थामा स्थानीय ट्रमा सेन्टर लगिएको छ। अन्य दुई जनालाई पनि अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। मृतक तथा घाइतेको पहिचान भने तत्काल सार्वजनिक गरिएको छैन।

    दुर्घटनापछि विमानस्थलमा केही समय उडान तथा अवतरण प्रभावित भएको थियो। संघीय उड्डयन प्रशासन (FAA) ले ग्राउन्ड स्टप जारी गरेको थियो भने विमानस्थलका केही रनवे बन्द गरिएका थिए। पछि केही रनवे पुनः सञ्चालनमा आए पनि उडानमा ठूलो ढिलाइ र केही रद्दीकरण भएको थियो।

    दुर्घटनाको कारणबारे तत्काल स्पष्ट जानकारी आएको छैन। FAA र अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले घटनाको अनुसन्धान सुरु गरेका छन्। विमान अवतरणका क्रममा मौसमको अवस्था, हावाको गति तथा अन्य प्राविधिक पक्षबारे अनुसन्धान भइरहेको छ।

    अमेजनले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा व्यक्तिको सुरक्षा र सहयोगलाई प्राथमिकतामा राखिएको जनाएको छ। कम्पनीले अनुसन्धानमा सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने बताएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend