२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

फास्ट ट्रयाक निर्माणस्थलमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

फास्ट ट्रयाक निर्माणस्थलमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • हेटौंडा- मकवानपुरमा निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ।

    मकवानपुरको भीमफेदी गाउँपालिका–८, महादेवटारस्थित फास्ट ट्रयाक निर्माणस्थलमा आइतबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो।

    दुर्घटनामा चाइना रेलवे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडमा सुपरभाइजरका रूपमा कार्यरत ५१ वर्षीय चिनियाँ नागरिक गुओ फाङशुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार निर्माणस्थलमा काम गर्ने क्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भएका ४८ वर्षीय गौरसिंह साउदले चलाएको लोडरको पछाडिको चक्काले गुओलाई ठक्कर दिएको थियो।

    लोडरको ठक्करबाट गम्भीर घाइते भएका गुओको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार गुओ सन् २०२६ फेब्रुअरी १५ देखि चाइना रेलवे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडमा सुपरभाइजरका रूपमा कार्यरत थिए।

    दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्कालगायतका प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। मृतकको शव परीक्षणका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको शवगृहमा राखिएको छ।

    घटनामा संलग्न लोडर चालक साउदको अवस्था तथा दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटना कार्यस्थलमा भएको भएकाले घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend