काठमाडौं -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विमानस्थलको उडान तथा अवतरण सेवा केहीबेर प्रभावित भएको छ।
इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार शिलवालका अनुसार विमानमा चरा ठोक्किए पनि कुनै क्षति भएको छैन। विमानको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो।
“चरा ठोक्किए पनि कुनै पनि क्षति भएको छैन। अवस्था सामान्य छ,” एसपी शिलवालले बाह्रखरीसँग भन्नुभएको छ।
विमानमा चरा ठोक्किएपछि सुरक्षात्मक जाँच तथा आवश्यक प्रक्रिया पूरा गर्न विमानस्थलमा उडान तथा अवतरण अस्थायी रूपमा बन्द गरिएको थियो। यद्यपि, केही मिनेटमै विमानस्थलको सेवा पुनः सञ्चालनमा आउने एसपी शिलवालले बताउनुभएको छ।
विमानस्थलमा विमान अवतरण गर्ने क्रममा चरासँग ठोक्किने घटनालाई उड्डयन सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ। यस्तो अवस्थामा विमानको अवस्था जाँच गरी सुरक्षित सञ्चालन सुनिश्चित गर्नु आवश्यक हुन्छ।
यस घटनामा विमानमा कुनै क्षति नभएको र अवस्था सामान्य रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। विमानस्थलको उडान तथा अवतरण सेवा पुनः सञ्चालन भएको वा नभएकोबारे भने थप आधिकारिक पुष्टि आवश्यक छ।