२०८३, आश्विन २४ गते

समय लोड हुँदैछ...

धनगढीमा मोटरसाइकलको ठक्करबाट तीन प्रहरी घाइते, चालक मदिरा सेवन गरेको पुष्टि

धनगढीमा मोटरसाइकलको ठक्करबाट तीन प्रहरी घाइते, चालक मदिरा सेवन गरेको पुष्टि

बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • धनगढी- कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट सवारी चेकजाँचमा खटिएका तीन प्रहरी घाइते भएका छन्।

    बुधबार बेलुका धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्पनजिक संयुक्त रूपमा सवारी चेकजाँचमा खटिएका प्रहरीलाई से ३ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

    दुर्घटनामा प्रहरी सहायक हवलदार ३८ वर्षीय उज्जवलसिंह साउद, हवलदार ३८ वर्षीया राधिका शाही र सहायक हवलदार ३५ वर्षीया कमला खत्री घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार सहायक हवलदार साउदको अवस्था गम्भीर छ। उनको एउटा खुट्टा फ्र्याक्चर हुनुका साथै टाउको र छातीमा चोट लागेको छ। उनको धनगढीस्थित नवजीवन अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

    हवलदार शाहीको छाती र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सहायक हवलदार खत्रीको छाती र खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    घाइते तीनै जना सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत छन्।

    प्रहरीका अनुसार मोटरसाइकल कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का २३ वर्षीय आशिष चौधरीले चलाएका थिए। डिएसपी तिमिल्सिनाका अनुसार चौधरीले मदिरा सेवन गरेको पुष्टि भएको छ। तीव्र गतिमा चलाइएको मोटरसाइकलले ड्युटीमा खटिएका प्रहरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि मोटरसाइकल चालक चौधरी र मोटरसाइकलको पछाडि सवार कैलालीको बर्दगोरिया गाउँपालिका–६ का १७ वर्षीय समिर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend