२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

१५ बुँदे माग राखेर अनसनरत नर्स रानाभाट आइसीयूमा

१५ बुँदे माग राखेर अनसनरत नर्स रानाभाट आइसीयूमा

सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं-नर्सिङ क्षेत्र सुधारको माग राख्दै चार दिनदेखि सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।

    साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा १५ बुँदे मागसहित अनशन सुरु गरेकी रानाभाटको रक्तचाप र रगतमा चिनीको मात्रा (सुगर लेभल) अत्यधिक घटेपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई क्याबिनबाट आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ।

    विडम्बना के छ भने, केही समयअघिसम्म बिरामीको सेवा–सुसारमा खटिएकी रानाभाट अहिले आफैँ अस्पतालको शय्यामा उपचाररत छिन्। उनी हाल वीर अस्पतालमै नर्सिङ विषयमा स्नातकोत्तर दोस्रो वर्ष अध्ययनरत पनि हुन्।

    नर्सिङ क्षेत्रका संरचनागत सुधारको माग

    रानाभाटले नर्सिङ तथा मिडवाइफ्री सेवामा देखिएका दीर्घकालीन समस्या समाधान गर्न १५ बुँदे माग अघि सारेकी छन्। उनका मुख्य मागहरूमा:

    • सरकारी अस्पतालका करार नर्सलाई तहअनुसार पारिश्रमिक,
    • निजी अस्पताल तथा मेडिकल कलेजका नर्सलाई सरकारीसरह सेवा–सुविधाको कानुनी सुनिश्चितता,
    • वैज्ञानिक मापदण्डअनुसार पर्याप्त नर्सिङ दरबन्दी,
    • करार प्रथाको अन्त्य,
    • नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन तत्काल निर्माण,
    • निष्पक्ष लाइसेन्स परीक्षा,
    • भ्रष्टाचारमुक्त र पारदर्शी नेपाल नर्सिङ परिषद्,
    • समान पदोन्नति र नेतृत्वको अवसर,
    • प्रमुख नर्सिङ तथा मिडवाइफ्री अधिकृतको व्यवस्था,
    • उच्च जोखिम क्षेत्रमा कार्यरत नर्सलाई जोखिम भत्ता,
    • सुरक्षित कार्य वातावरण र नर्सिङ अडिट प्रणालीको व्यवस्था रहेका छन्।

    रानाभाटका अनुसार नर्सिङ सेवा नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड भए पनि न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, अपर्याप्त दरबन्दी, नेतृत्वको अभाव तथा विभेदपूर्ण नीतिका कारण नर्सिङ पेसा गम्भीर संकटमा परेको छ।

    "सहमति कार्यान्वयन भएन"

    नर्सहरूले २०८२ कात्तिकमा पनि न्यूनतम तलब, भत्ता र सेवा–सुविधाको माग राख्दै आन्दोलन गरेका थिए। त्यसबेला सरकारले निजी अस्पतालमा कार्यरत नर्सलाई सरकारी पाँचौँ तहअनुसार पारिश्रमिक उपलब्ध गराउने सहमति गरेको थियो।

    तर उक्त सहमति व्यवहारमा कार्यान्वयन नभएको र सरकारी अस्पतालमा समेत वर्षौँसम्म करारमा काम गर्नुपर्ने, जोखिम भत्ता नपाउने तथा तहवृद्धि नहुने अवस्था कायम रहेको भन्दै रानाभाटले पुनः सत्याग्रह सुरु गरेको बताएकी छन्।

    वार्ता समितिसँग छलफल गर्न अस्वीकार

    स्वास्थ्य मन्त्रालयले नर्सिङ प्रशासक अमृता पहाडी, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख रोशनी लक्ष्मी तुईतुई र नुजन शर्मासहितको वार्ता समिति गठन गरेको छ। तर रानाभाटले उक्त समितिसँग वार्ता गर्न अस्वीकार गरेकी छन्।

    उनको भनाइमा, स्वास्थ्य मन्त्रालय मात्र होइन, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि समेत सहभागी हुने अधिकारसम्पन्न टोलीसँग मात्रै वार्ता हुनुपर्छ। नर्सिङ शिक्षा, श्रम अधिकार र पारिश्रमिकका विषय बहुआयामिक भएकाले सम्बन्धित सबै मन्त्रालयको सहभागिता आवश्यक रहेको उनको अडान छ।

    उनकी सहयोगी तथा नर्स कल्पना रिजालका अनुसार मन्त्रालयले गठन गरेको समितिमा रानाभाटलाई पढाउने शिक्षकसमेत रहेकाले स्वार्थ बाझिने अवस्था सिर्जना भएको भन्दै त्यस समितिसँग वार्ता नगर्ने निर्णय गरिएको हो।

    उता स्वास्थ्य मन्त्रालयको सचिवालयले भने अनशन सुरु भएकै दिन वार्ताका लागि बोलाउँदा रानाभाट पक्ष उपस्थित नभएको र पछिल्ला प्रयासहरू पनि सफल हुन नसकेको जनाएको छ। सचिवालयका अनुसार रानाभाटले स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा गृहमन्त्रीसँग मात्र वार्ता गर्ने अडान लिएकी छन्।

    नेपाल नर्सिङ संघको सरकारलाई आग्रह

    यसैबीच नेपाल नर्सिङ संघ ले विज्ञप्ति जारी गर्दै विगतमा नर्सहरूसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनशनरत ज्योति रानाभाटको जीवनरक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ।

    संघका महासचिव डा. देवकाकुमारी आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा नर्सहरूको पेसागत अधिकार, सेवा–सुविधा र कार्य वातावरणमा सुधार नगरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने उल्लेख गर्दै सरकारले यस विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।

    रानाभाटको स्वास्थ्य अवस्था आईसीयूमा उपचार भइरहेकाले नर्सिङ क्षेत्रका माग र सरकारबीचको संवाद अब थप संवेदनशील मोडमा पुगेको देखिएको छ।

     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend