मोरङ । विराटनगरका गुण्डा नाइकेका रूपमा परिचित अभिषेक गिरीलाई जिल्ला प्रहरी कार्यालय, मोरङले पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार काठमाडौँबाट विराटनगर आएका गिरीलाई बिहीबार बेलुका विराटनगर विमानस्थलबाटै पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गिरीविरुद्ध अपराधिक लाभ (क्रिमिनल बेनेफिट) सम्बन्धी नयाँ मुद्दा दर्ता भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
यसअघि पनि गिरीविरुद्ध विराटनगरस्थित जिल्ला कारागार मोरङका कैदीबन्दीको रकम हिनामिना गरेको आरोपमा अपराधिक लाभसम्बन्धी मुद्दा दर्ता भएको थियो।
डीएसपी मिश्रका अनुसार हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका गिरीलाई शुक्रबार जिल्ला अदालत मोरङमा उपस्थित गराई म्याद थपको प्रक्रिया अघि बढाइनेछ।
यसअघि पनि पक्राउ परेका थिए
गिरीलाई गत असार १३ गते विराटनगर–८ स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि असार २२ गते जिल्ला अदालत मोरङले उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
तर अदालतबाट रिहा भएकै दिन साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पुनः नियन्त्रणमा लिएर सोही राति विमानमार्फत काठमाडौँ लगेको थियो।
अहिले भने नयाँ मुद्दामा पुनः पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।