काठमाडौं । नेपालबाट वर्षायामको मौसम प्रणाली अर्थात् मनसुन बाहिरिने औसत मिति आज अक्टोबर २ हो। तर औसत मिति भएकाले मनसुन हरेक वर्ष यही दिन ठ्याक्कै बाहिरिन्छ भन्ने हुँदैन। यस वर्ष भने मनसुन औसत समयभन्दा केही दिन ढिला बाहिरिने मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बहिर्गमनका लागि आवश्यक मौसमी अवस्था बन्दै गए पनि आजै मनसुन बाहिरिएको घोषणा हुने अवस्था छैन। पश्चिमी भूभागबाट क्रमशः मनसुन हट्दै जाने र केही दिनभित्र देशबाट पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मनसुन देशभरबाट एकैपटक बाहिरिँदैन। सामान्यतया पश्चिमी क्षेत्रबाट मनसुन कमजोर हुँदै पूर्वतर्फ सर्दै जान्छ र अन्ततः कोशी प्रदेशबाट बाहिरिएपछि देशबाट पूर्ण रूपमा मनसुन समाप्त भएको मानिन्छ।
अहिले नेपालमा मनसुनी र पश्चिमी दुवै वायुको मिश्रित प्रभाव रहेको छ। मनसुन पूर्ण रूपमा बाहिरिएपछि पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै जाने र तापक्रम घट्दै गएर मौसम चिसो बन्ने क्रम सुरु हुनेछ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो। यस वर्ष भने मनसुन औसत मितिभन्दा छ दिन ढिला अर्थात् जुन १९ (असार ५) मा कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि क्रमशः फैलिँदै जुन ३० (असार १६) मा देशभर फैलिएको थियो।
मनसुनपछि पोस्ट–मनसुन
मनसुन पूर्ण रूपमा बाहिरिएपछि नेपालमा पोस्ट–मनसुन अर्थात् मनसुनपछिको मौसम सुरु हुन्छ। यो अवधि सामान्यतः अक्टोबर र नोभेम्बरसम्म रहन्छ। त्यसपछि डिसेम्बरदेखि हिउँद अर्थात् विन्टर सिजन सुरु हुन्छ, जुन फेब्रुअरीसम्म रहन्छ।
मार्चदेखि मेसम्मको अवधिलाई प्रि–मनसुन भनिन्छ। यसरी नेपालको मौसमलाई सामान्यतः प्रि–मनसुन, मनसुन, पोस्ट–मनसुन र विन्टर गरी चार मौसमी चरणमा वर्गीकरण गरिएको छ।
आज कहाँ–कहाँ वर्षाको सम्भावना?
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभाग र देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुनसक्ने विभागले जनाएको छ।
राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा बिहानपख हुस्सु लाग्न सक्ने सम्भावना छ। कोशीका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ।
काठमाडौंमा पानी पर्ने सम्भावना कम
आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना तुलनात्मक रूपमा कम रहेको छ। विभागको हालको पूर्वानुमानमा काठमाडौंमा वर्षाको सम्भावना २० प्रतिशत रहेको छ।
त्यस्तै, विभागको आजको विवरणअनुसार पोखरामा पनि वर्षाको सम्भावना २० प्रतिशत रहेको छ। पोखराको अधिकतम तापक्रम ३१–३३ डिग्री सेल्सियस र न्यूनतम २१–२३ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।
मौसममा मनसुनी र पश्चिमी दुवै प्रणालीको प्रभाव कायमै रहेकाले मनसुन औपचारिक रूपमा बाहिरिएको घोषणा नभएसम्म वर्षाको सम्भावना पूर्ण रूपमा समाप्त नहुने मौसमविद्हरूले बताएका छन्।