काठमाडौं- बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साताको अन्त्यमा देशका विभिन्न भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा यसको प्रभाव बढी देखिन सक्नेछ।
विभागका मौसमविद् राजन महर्जनका अनुसार साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभाव देखिनेछ।
साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ। ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुन सक्ने मौसमविद् महर्जनले बताए।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको हिमपात हुने र एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने सम्भावना छ। साताको सुरु र मध्यमा भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ।
पहाडी भूभागमा साताको सुरु र मध्यमा सबै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साताको अन्त्यमा पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए।
तराईका भूभागमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भूभागका थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
आगामी सातामा देशका विभिन्न भूभागको अधिकतम तथा न्यूनतम तापक्रममा समेत सामान्य गिरावट आउन सक्ने मौसमविद् महर्जनले बताए।