काठमाडौं- वेब प्रविधि पीएचपी (PHP) मा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहितका केही सेवा अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सम्भावित साइबर सुरक्षा जोखिमलाई ध्यानमा राखेर सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो। सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बैंकले जनाएको छ।
राष्ट्र बैंकले पीएचपीमा देखिएको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै, सर्भरमा प्रयोग भइरहेका प्रणालीको सुरक्षा सुदृढ बनाउन, सम्भावित जोखिम पहिचान गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थाहरूलाई राष्ट्र बैंकले आग्रह गरेको छ।
पीएचपी वेब एप्लिकेसन तथा वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसमा देखिने सुरक्षा कमजोरीको उचित व्यवस्थापन नगरिए वेबसाइट, सर्भर तथा सम्बन्धित प्रणाली साइबर आक्रमणको जोखिममा पर्न सक्छन्।