२०८३, मंसिर ६ गते

समय लोड हुँदैछ...

रुसको साइबेरियामा सैन्य विमान दुर्घटना : १९ जनाकै मृत्यु

रुसको साइबेरियामा सैन्य विमान दुर्घटना : १९ जनाकै मृत्यु

बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • मस्को — रुसको साइबेरियामा सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले दुर्घटनामा कसैको पनि ज्यान जोगिन नसकेको जनाएका छन्।

    मन्त्रालयका अनुसार मंगलबार एन–१२ (An-12) सैन्य मालवाहक विमान नियमित उडानका क्रममा केमेरोभो क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। विमान यागुनोभो गाउँनजिकैको निर्जन क्षेत्रमा खसेको स्थानीय गभर्नर इल्या सेरेद्युले जानकारी दिएका छन्।

    प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी छ। रुसी उड्डयन अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गरेका छन्।

    दुर्घटनापछि विमानमा आगलागी भएको थियो। घटनास्थल पुगेको आपत्कालीन उद्धार टोलीले आगो नियन्त्रणमा लिएको थियो भने प्रहरीले आसपासको क्षेत्रलाई घेराबन्दी गरेको थियो।

    स्थानीय गभर्नर सेरेद्युले घटनास्थलको निरीक्षण गर्दै उद्धार तथा अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन हेलिकोप्टर र चिकित्सा टोली तयारी अवस्थामा राखिएको बताएका छन्। उनले अहिले अनुसन्धानकर्ताहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु मुख्य प्राथमिकता रहेको उल्लेख गरेका छन्।

    गभर्नरले सार्वजनिक गरेको भिडियोमा दमकलकर्मीहरू विमानका भग्नावशेषबीच खोजी गरिरहेको देखिन्छ। घटनास्थलनजिकै कैयौँ एम्बुलेन्ससमेत तैनाथ गरिएको थियो।

    यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक सीसीटीभी फुटेजमा आकाशबाट चम्किलो वस्तु खसिरहेको देखिएको छ। बीबीसी र रोयटर्सले उक्त फुटेजको मिति तथा समय पुष्टि गरेका छन्। रोयटर्सले भूउपग्रह तस्बिरसँग तुलना गरी दुर्घटनास्थलको स्थानसमेत प्रमाणीकरण गरेको जनाएको छ।

    दुर्घटनाग्रस्त विमानमा कुनै मालसामान वा सैन्य सामग्री लोड गरिएको थियो कि थिएन भन्नेबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

    एन–१२ विमान रुसी सेनाले सैनिक तथा हतियार ओसारपसारका साथै खोज तथा उद्धार अभियानमा समेत प्रयोग गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend