काठमाडौं – सरकारले कक्षा १२ को परीक्षाको नतिजाबारे विद्यार्थीहरूले उठाएका गुनासो सम्बोधन गर्न समिति गठन गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।
मन्त्री पोखरेलका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको हो। समितिले उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि तथा नतिजा प्रकाशन प्रक्रियाको अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।
कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको र हतारमा नतिजा सार्वजनिक गरिएको भन्दै विद्यार्थीहरूले विरोध जनाउँदै आएका छन्। यसैक्रममा उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए।
विद्यार्थी आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतार नगरिएको दाबी गरेका छन्।
‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन। आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमै सार्वजनिक गरिएको हो,’ मन्त्री पोखरेलले भने।
उनले आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन्।
‘विद्यार्थीप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ मन्त्री पोखरेलले भने।