काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा गम्भीर घाइते भएका बस चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
काभ्रेको पनौतीका २५ वर्षीय लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार साँझ मृत्यु भएको हो। अस्पतालका बर्न प्लास्टिक सर्जन डा. शंकरमान राईले लामाको मृत्यु भएको जानकारी दिएका छन्। काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार लामाको साँझ करिब ७ः१५ बजे मृत्यु भएको हो।
सोमबार दिउँसो करिब १२ः३० बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा चालक लामा गम्भीर घाइते भएका थिए।
प्रहरीको प्रारम्भिक विवरणअनुसार ट्राफिक प्रहरीसँग भएको सामान्य विवादपछि चालक लामाले आफैँ बसमा आगो लगाएको आशंका गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण र आगलागी कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट चालक लामासहित अन्य व्यक्ति तथा भौतिक संरचनामा भएको क्षतिको विवरणसमेत प्रहरीले संकलन गरिरहेको छ।
सात सदस्यीय छानबिन समिति गठन
घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिका सदस्यमा प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, ट्राफिक प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका प्रमुख अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुरका प्रतिनिधि भीम ज्वाला राई तथा रिद्धिसिद्धि यातायात प्रालिका लव केसी रहेका छन्।
समितिले बसमा आगलागी हुनुको कारण, घटनाको अवस्था, चालक र ट्राफिक प्रहरीबीच भएको विवाद तथा सम्बन्धित पक्षको भूमिकालगायत विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।
घटनापछि प्रहरीले घटनास्थलको अवस्थाबारे अनुसन्धान अघि बढाएको छ भने छानबिन समितिको प्रतिवेदनपछि आगलागीको वास्तविक कारण र जिम्मेवारीबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।