२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

सुकुना विद्यालयमा छात्रामाथि यौन दुर्व्यवहारको आरोप : दुई शिक्षक र एक चालक पक्राउ

सुकुना विद्यालयमा छात्रामाथि यौन दुर्व्यवहारको आरोप : दुई शिक्षक र एक चालक पक्राउ

सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक विद्यालय चालकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा विद्यालयका सवारी चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, शिक्षक सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन्।

    मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, विद्यालयमा अध्ययनरत छात्राहरूलाई प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत यौनजन्य दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो।

    प्रहरीका अनुसार शिक्षक अबिरल मास्केले म्यासेन्जरमार्फत छात्राहरूलाई पटक–पटक भेट्न प्रस्ताव गर्ने, शरीरका अंग देखाउन आग्रह गर्ने तथा अशोभनीय सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस्तै, पक्राउ परेका अन्य आरोपितहरूले पनि छात्राहरूलाई परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिँदै अमर्यादित व्यवहार गरेको आरोप छ।

    घटनापछि विद्यार्थीहरू आन्दोलनको तयारीमा रहेको जानकारी पाएसँगै प्रहरीले सोमबार बिहानै तीनै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

    प्रहरीले घटनामा यौनजन्य दुर्व्यवहार भएको प्रारम्भिक आधार देखिएकाले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानका क्रममा अन्य व्यक्ति पनि संलग्न रहेको पुष्टि भए कानुनबमोजिम कारबाही गरिने डीएसपी मिश्रले बताए।

    प्रहरीले घटनाबारे सामाजिक सञ्जालमा अपुष्ट वा भ्रामक टिप्पणी नगर्न तथा अनुसन्धानमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend