२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

बागलुङमा डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ टोली परिचालन

बागलुङमा डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ टोली परिचालन

सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • बागलुङ- बागलुङमा डेङ्गु सङ्क्रमण तीव्र रूपमा बढेपछि यसको नियन्त्रण तथा दीर्घकालीन समाधानका लागि सरकारी विज्ञ टोली परिचालन गरिएको छ ।

    गत साउनयता मात्रै बागलुङ जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रादेशिक रोग नियन्त्रण महाशाखाको संयुक्त विज्ञ टोली बागलुङ बजारमा परिचालित भएको हो ।

    प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार डेङ्गुको वास्तविक अवस्था पहिचान गर्नुका साथै सङ्क्रमणको कारण, फैलावट र नियन्त्रणका प्रभावकारी उपायबारे अध्ययन गर्न चार सदस्यीय विज्ञ टोली बागलुङ आएको हो ।

    टोलीले पछिल्ला तीन दिनदेखि बागलुङ बजारका विभिन्न घरमा पुगेर डेङ्गु सङ्क्रमित तथा शङ्कास्पद बिरामीको अवस्था बुझ्ने, स्वास्थ्यसम्बन्धी जानकारी सङ्कलन गर्ने तथा सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिरहेको छ ।

    त्यस्तै, विज्ञ टोलीले धवलागिरि अस्पतालको अनुगमन, डेङ्गु परीक्षणमा प्रयोग भइरहेको किटको अवस्था परीक्षण तथा आवश्यक नमूना सङ्कलन गरिरहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गोकर्ण दाहालको नेतृत्वमा परिचालित टोलीमा इन्टोमोलोजिस्ट तथा विश्व स्वास्थ्य सङ्गठनका शिशिर पन्त र स्वास्थ्य सेवा विभागका कौशल सुवेदीलगायत विज्ञ सहभागी छन् ।

    डेङ्गु भाइरसका विभिन्न प्रजातिमध्ये बागलुङमा कुन प्रजातिको संक्रमण बढी देखिएको छ भन्ने विषयमा समेत अध्ययन भइरहेको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अस्पतालमा उपचार तथा परीक्षणका लागि आएका शङ्कास्पद बिरामीबाट नमूना सङ्कलन गर्ने, अस्पतालमा प्रयोग भइरहेका डेङ्गु परीक्षण किटको अवस्था जाँच गर्ने तथा सङ्क्रमण फैलिन सक्ने सम्भावित कारणको अध्ययन गर्ने काम भइरहेको छ ।

    डेङ्गु नियन्त्रणका लागि घरमै स्वास्थ्यकर्मी परिचालन गरी जनचेतना तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत भइरहेको जनाइएको छ ।

    डेङ्गुको अवस्था थप नियन्त्रणबाहिर जान नदिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बागलुङलाई केन्द्रमा राखेर निगरानी र खोज–अनुसन्धानलाई तीव्र बनाएको हो ।

    विज्ञ टोलीको अध्ययनपछि बागलुङमा डेङ्गु सङ्क्रमणको अवस्था, फैलावटको कारण र नियन्त्रणका लागि आवश्यक दीर्घकालीन रणनीति तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    स्वास्थ्यकर्मीहरूले डेङ्गुबाट बच्न घर तथा आसपासको क्षेत्रमा लामखुट्टेले अण्डा पार्न सक्ने पानी जम्ने स्थान हटाउन, घर वरपर सरसफाइ कायम राख्न तथा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend